१४ किलो सुन तस्करी प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडौँ, २८ मंसिर । १४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् ।
मंसिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले सुनसहित विमानस्थलमा पक्राउ परेका थिए ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।
दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानबाट थाहा भएको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ ।