पूर्व गृहमन्त्री खाणलाई सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले पनि बयान लिनेे
काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिइएका बालकृष्ण खाणलाई सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले पनि बयान लिने भएका छन् ।
खाणमाथि अवैध तरिकाले सम्पत्ती आर्जन गरेको भन्दै विभागमा उजुरी परेका कारण अनुसन्धानका लागि खाणलाई विभागले बयान लिन लागेकाे हाे ।
खाणलाई विहान १० बजे जिल्ला अदालत ल्याएर उच्च अदालतको आदेश अनुसार ३० लाख धरौटी बुझाउन लगाइने छ । त्यसपछि धरौटी पत्र बुझाएर कारागार मुक्त गराएसँगै उनलाई सम्पत्ती शुद्धीकरण विभाग लगिने बताइएको छ ।
खाणमाथि अवैध तरिकाले सम्पत्ती आर्जन गरेको भन्दै विभागमा उजुरी परेको छ । उच्चले धरौटीमा छाड्ने आदेश दिएसँगै सम्पत्ती शुद्धीकरण विभागले खाणलाई आफुसमक्ष उपस्थित गराउन उच्चलाई पत्र पठाएको थियो । सोही पत्र बमोजिम बयानका लागि खाणलाई विभागमा उपस्थित गराउनु पर्ने छ । खाणलाई धरौटीमा छाड्ने या थुनामै राख्ने भन्ने विषयमा बयानपछि विभागले निर्णय लिने छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाण गत बैशाख २७ गते पक्राउ परेका थिए ।
उनी विरुद्ध ठगी र किर्तेसम्बन्धी कसुर,संगठित अपराध र राज्यविरुद्धको अपराध जस्ता मुद्दा परेका छन् । उस्तै मुद्दामा जेलमा रहेका एमाले नेता टोपबहादुर रायमाझीलाई भने उच्चले धरौटीमा छोड्न इन्कार गरेको छ ।