काठमाडौंमा २० औं ज्यापू दिवस मनाइँदै

काठमाडौं, १० पुस । आज योमरी पुन्हिको दिन उपत्यकाका ज्यापू समुदायले ज्यापू दिवस मनाएका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित ज्यापू दिवसको उपलक्ष्यमा आज काठमाडौं महानगरपालिका १८ वडास्थित त्यंगल टोलबाट र्याली आयोजना गरी बसन्तपुर पुगेको थियो ।

धिमे, भुस्याः जस्ता बाजागाजा र धुन्या (झण्डा) सहित निकालिएको उक्त र्यालीमा काठमाडौंका विभिन्न टोलबाट आएका ज्यापू खलः पुचः एवं गुठीहरुको सहभागिता रहेको थियो ।

र्यालीको सबैभन्दा अगाडी पञ्चकन्या रहेको थियो । र्यालीमा स्थानीय नेवाः भेषभूषामा सजिएका ज्यापू समुदायको सहभागिता रहेको थियो ।

त्यंगल टोलबाट शुरु भएको उक्त र्याली नयाँ सडक, ओमबहाल, लगन, हिउमत, कोहिटी, भिमसेनथान हुँदै बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

बसन्तपुरमा आयोजित मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा देशका विभिन्न क्षेत्रमा योगदान दिएका ज्यापू एवं गैर ज्यापू हस्तीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

आयोजक समितिले डा. पुरुषोत्तम नारायण सुवाललाई ज्यापु रत्न र प्रा.डा. त्रिरत्न मानन्धरलाई ज्यापु प्रज्ञा सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । यसै गरी विभिन्न २९ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।