एनएसएलको फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

काठमाडौं, १२ पुस । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी एफसीसँग खेल्नेछ ।

धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
पहिलो क्वालिफायरमा पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो ।

ललितपुरले एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३-० ले सहजै हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

लिगमा तेस्रो भएको ललितपुरले फाइनल पुग्न अझै एक खेल जित्नुपर्नेछ । पोखरा र ललितपुर जो फाइनल पुगे पनि नयाँ टोली फाइनल पुग्नेछ ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए। अब नकआउट खेल भएकोले दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने अवस्था छ ।