क्यानडाद्वारा नेपाल सामु २५७ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, असोज ३१ । ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग २ एकदिवसीय शृङ्खलाअन्तर्गत क्यानडाले नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । क्यानडाका ओपनर युवराज सम्राले शतकीय पारी खेल्ने क्रममा ११७ बलमा ११ चौका र चार छक्काको मद्दतले १०५ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको पहिलो शतक हो ।
क्यानडाका लागि आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रनको योगदान दिए ।
नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले सर्वाधिक चार विकेट लिए । कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहितकुमार पौडेलले एक विकेट हात पारे ।
आजको खेलमा जित हासिल गरे नेपालले विश्वकप लिग २ को अङ्क तालिकामा शीर्ष छभित्र आफ्नो स्थान सुरक्षित गर्नेछ । नेपाल पराजित भएमा अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाबमा पर्नेछ ।
यता, क्यानडाका लागि पनि आजको खेल निर्णायक छ । नेपालसँग पराजित भए क्यानडाको शीर्ष छमा पुग्ने सम्भावना समाप्त हुनेछ । ताजा अङ्क तालिकामा नेपाल छैटौँ र क्यानडा सातौँ स्थानमा रहेका छन् ।
