विश्वकप लिग २ शृङ्खलामा क्यानडासँग नेपाल २४ रनले पराजित
काठमाडौँ, असोज ३१ । आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ ।
क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल आज अलअमरात क्रिकेट मैदानमा ४६ ओभरमा २३२ रन बनाउँदै अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ११२ बलमा चार चौकाको मद्दतले उक्त रन जोडे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१, आसिफ शेखले २०, कप्तान रोहितकुमार पौडेलले १८ तथा करण केसीले अविजित १७ रन बनाए । क्यानडाका बलर सुखजिन्दर सिंहले तीन तथा कलिम सना र शील पटेलले समान दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो । क्यानडाका ओपनर युवराज सम्राले शतकीय पारी खेल्ने क्रममा ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रन बनाए । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो ।
क्यानडाका आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० तथा समित गोयलले १७ रनको योगदान दिए । नेपालका बलर ललितनारायण राजवंशीले चार, कप्तान सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहितकुमार पौडेलले एक विकेट लिए ।
यस हारसँगै नेपाल विश्वकप लिग २ को अङ्कतालिकामा सातौँ स्थानमा झरेको छ । शीर्ष छ स्थानभित्र रहेर प्रतियोगितामा आफ्नो स्थिति सुरक्षित गर्न नेपालले अब अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने भएको छ । नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ ।
