भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक राष्ट्रिय युवासङ्घद्वारा मर्मत

भोजपुर, ३ माघ । युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा भत्किएर दुर्घटनाको जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताउनुभयो ।

सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उहाँको भनाइ छ । “बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको अवस्था थियो”, उहाँले भन्नुभयो, “सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौँ । सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु ।”

दैनिकजसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिनुभयो । मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *