राष्ट्रिय सभा निर्वाचन : मौन अवधि आज राति १२ बजेदेखि सुरु, सामाजिक सञ्जालमा प्रचार गर्न नपाइने

काठमाडौं, ८ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ ।

मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।

यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि मतदान यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *