काठमाडौंबाट बाजुरा जाँदै गरेकाे बस सुनवलमा टिपरसंग ठोक्किँदा १७ जना घाइते

काठमाडौं, १९ माघ। पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् भने एक जनाको अवस्था गम्भीर रहेकाे छ ।

काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडा भन्ने स्थानमा ठोक्किएका थिए ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बसमा सवार ३५ जनामध्ये चालकसहित १७ जना घाइते भएका छन् । घाइते मध्य ६ जना डिस्चार्ज भसकेका छन् ।

बाँकी ११ जनामध्ये एक जनाकाे अवस्था गम्भीर रहेकाे छ । घाइतेहरुको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।