छात्रावासले चितवनको इच्छाकामनामा चेपाङ बालबालिकाको पढाइमा सुधार

चितवन, १९ माघ । चितवनको इच्छाकामना गाउँपालिका–२ को वर्ल्याङस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अधिकांश चेपाङ बालबालिका अध्ययन गर्छन् । यस विद्यालयमा अध्ययनरत ९० विद्यार्थीमध्ये २३ बालबालिका चेपाङ समुदायको अग्रसरतामा सञ्चालनमा ल्याइएको छात्रावासमा बस्छन् । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको यस छात्रावासका कारण चेपाङ बालबालिकाको पढाइमा सुधार भएको छ ।

शतप्रतिशत चेपाङ बालबालिकाले आवासीय सुविधा लिइरहेको यो छात्रावासमा कक्षा ७ सम्म अध्ययन गर्ने २३ बालबालिका छन् । छात्रावास सञ्चालनपछि बालबालिका विद्यालयमा नियमित भएको र पढाइमा पनि सुधार आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताउनुभयो ।

“बाबु आमा नभएका टुहुरा र विपन्न बालबालिकालाई छात्रावासमा राखेर अध्ययन गराइरहेका छौँ”, उहाँले भन्नुभयो, “नजिकै रहेको विद्यालयमा उनीहरुले राम्रोसँग पढ्न पाएका छन् ।” हाल अध्ययन गरिरहेको विद्यालयबाट आधारभूत तह पार गरिसकेपछि माध्यमिक तहमा पढ्न कहाँ जाने भन्ने अन्योल रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय आधारभूत विद्यालय वर्ल्याङले आगामी शैक्षिक सत्रमा कक्षा ८ खुलाउने तयारी गरिरहेको छ । “अहिलेसम्म गाउँपालिकाले संरक्षण गरिरहेको छ, व्यवस्थापनको पाटो हामीले नै हेरिरहेका छौँ”, प्रजाले भन्नुभयो, “यी नानीबाबुलाई अबको एक वर्ष चिन्ता भएन, त्यसपछि कहाँ लैजाने भन्नेमा अन्योल छ ।”

विद्यालयका प्राचार्य कमला भण्डारीले छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थी पढाइमा पनि अब्बल बन्दै गइरहेकाे बताउनुभयो । उहाँले यहाँ बसेका बालबालिकाले अनुशासित र सरसफाइमा समेत ध्यान दिने गरेको बताउनुभयो । छात्रावासमा बसेर अध्ययन गरिरहेका बालबालिका पनि आवासीय सुविधासहित अध्ययन गर्न पाउँदा खुसी छन् ।

कक्षा ६ मा अध्ययनरत गीता चेपाङ छात्रावासमा बस्ने मौका पाएकै कारण आफूले पढ्न पाएको बताउनुहुन्छ । “बाबा बित्नुभयो, आमाले दोस्रो विवाह गर्नुभयो, ठूलोबा, आमासँग बसिरहेको थिएँ, मलाई पढाउन सक्ने सम्भावना थिएन”, उहाँले भन्नुभयो, “कक्षा ८ सम्म यहीँ पढ्ने हो, त्यसपछि सर म्याडमले जहाँ पठाउनुहुन्छ त्यहीँ गएर पढ्ने हो ।”

आमा र बुबा दुवैले दोस्रो विवाह गरेपछि अभिभावकविहीनजस्तै बन्नुभएकी सुनिता चेपाङ पनि मामाघरमा हुनुहुन्थ्यो । कक्षा ६ मा पढ्ने उहाँका भाइहरु पनि यही छात्रावासमा बसेर पढिरहेका छन् । आफ्नो जन्मदिने बाआमाबाट टाढा रहनु परे पनि उहाँले आधारभूत शिक्षाका लागि अभिभावक पाउनुभएको छ । छात्रावासमै घरपरिवारजस्तो वातावरण भएको भन्दै उहाँले ढुक्क भएर पढ्न पाएको बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाले भौगोलिक विकटतालाई हेरेर विगत चार वर्षदेखि यो छात्रावास सञ्चालनमा ल्याएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजाका अनुसार सुरूको वर्ष गाउँलेबाटै नुन, तेल, चामल र तरकारी सङ्कलन गरेर छात्रावासको सुरुआत गरिएको हो । अहिले गाउँपालिकाले वार्षिक रु पाँच लाख बजेट छुट्याइदिएको छ ।

“गाउँपालिकाले दिएको बजेटबाट खाना बनाउने आमालाई मासिक तलब र छात्रावासको भाडा तिर्ने काममा खर्च गर्न पाएको छ”, उहाँले भन्नुभयो, “बाँकी खानपान र लत्ताकपडाका लागि दाताकै भर पर्नुपरेको छ ।” माध्यमिक तहको अध्ययन गराउनका लागि समस्या रहेको उहाँ बताउनुहुन्छ ।

“कक्षा ८ पढिसकेपछि कहाँ लगेर पढाउने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “विद्यालयमा अध्ययनरत अन्य बालबालिका जाने काउले हो, तर छात्रावासका बालबालिकालाई कसरी पढाउने भन्ने नै सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।” गाउँपालिकासँग पनि यस विषयमा छलफल चलाइएको उहाँले बताउनुभयो ।

वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङकै प्रयासमा यहाँ छात्रावास सञ्चालनमा आएको हो । कक्षा ८ सम्मका बालबालिकाका लागि गाउँपालिकाले लगानी गरिदिएको उहाँले बताउनुभयो । अभिभावक नभएका टुहुरा बालबालिकालाई आवासीयरुपमा अध्ययन गराउने उद्देश्यका साथ छात्रावास सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले छात्रावास सञ्चालनपछि चेपाङ बालबालिकाको पढाइमा सुधार आएको बताउनुभयो । उहाँले गाउँपालिकाले छात्रावास भवन र अन्य भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने बताउनुभयो ।