उपनिर्वाचन

मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयाेगकाे आह्वान

काठमाडौँ, २२ माघ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको रिक्त स्थानमा पदपूर्तिका लागि आयोगले उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

रिक्त २३ पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार सोही प्रयोजनका लागि आयोगले योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो ।

२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन भएको थियो भने २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । विभिन्न कारणले निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।