नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलवार बसेकाे बैठकमा बोल्नुहुँदै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको बताउनुभयाे ।
उहाँले मुख्य सुरुङ २.६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताउनुभयाे। उहाँका अनुसार अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको छ । समग्र आयोजनाको भौतिक प्रगति ६८.५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको छ । एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको छ । उहाँले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिनुभयाे ।
उहाँका अनुसार घर टहराको ९५ प्रतिशत मुआब्जा पूरा भएको र थोरै मात्रै मुआब्जाको समस्या बाँकी रहेकाे छ ।
समितिकाे बैठकमा सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राखेका छन् ।
राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले समितिलाई आयोजनाले झुटो बोलेको बताउनुभयाे । उहाँले समितिलाई आयोजनाले ठगिरहेको भन्दै वर्तमान प्रविधिको युगमा समेत समितिलाई यकिन अवस्थाको विषयमा जानकारी दिन नसक्नु राम्रो नभएको बताउनुभयाे । उहाँले २०८०/८१ भित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार समयमा निर्माण सम्पन्न नहुँदा लागत बढ्ने बताउनुभयाे ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुरुङमार्ग निर्माण गर्दा देखिएका जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने समस्या, पानीको मुहान सुक्ने लगायतका समस्यालाई समाधान गरी निर्माण कार्य रोक्न नहुने बताउनुभयाे ।
नागढुङ्गा–नौबिसे सुरुङमार्गको लम्बाइ २.६ किमी रहेको छ ।