अनुसन्धानकर्मीलाई झुक्काइरहेको बाँदर !

रामबहादुर थापा
गण्डकी, २६ माघ । बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत घर वरपरका रुख काट्न वडावासीलाई गरेको आह्वानको चौतर्फी विरोध भयो । महानगरपालिकाको कार्यालयले वडालाई पत्राचार गर्दै उक्त सूचना रद्द गर्न र रुख कटानको कार्य बन्द गर्न अनुरोध गर्‍यो ।

वडा रुख काट्ने अभियानबाट पछाडि हट्यो । बाँदरको अत्याचारबाट आक्रान्त भएको मानिस बाँदर नियन्त्रणमा जस्तोसुकै अप्रिय र अनौठो निर्णय लिन पनि तयार छ भन्ने यसले देखाउँछ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–२ ग्वाँदीका बाँदर प्रभावित किसानलाई बिहीबार गुलेली र मटेङ्ग्रा बाँडेको विषयले पनि चर्चा पायो ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत नेपाली काँग्रेस, गुल्मीले किसानलाई बाँदर लखेट्न काम लाग्ने गुलेली र मटेङ्ग्रा दिएको हो । हालै पर्वतको कुश्मा नगरपालिका–९ मा बाँदर धपाउन वडाध्यक्ष राम शर्मा लामिछानेसहित १५ जना स्थानीयवासी पालो बाँडेर खटिएको खबरले पनि धेरैको ध्यान खिच्यो ।

यसरी नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतङ्क किन ज्यूँका त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका पूर्वअध्यक्ष लेखनाथ पोखरेल यसमा भुक्तभोगी नै हुनुहुन्छ ।

उहाँले बाँदर नियन्त्रणका लागि आफू गाउँपालिकाको नेतृत्वमा हुँदा गरेका पहल र प्रयासको फेहरिस्त नै सुनाउनुभयो । “फिरन्ते जाति राउटेले बाँदरको सिकार गर्ने हुँदा उनीहरुलाई सल्यानबाट गाउँपालिकामा ल्याउने तयारी र बन्दोबस्तसमेत गरिसकेका थियौँ, पछि प्रशासनले रोक्यो”, गाउँपालिका राष्ट्रिय महासङ्घका सल्लाहकार पोखरेलले भन्नुभयो, “राउटेलाई बाँदर सिकार र आहारविहार गर्न छुट भएकाले त्यसबाट बाँदरको संख्या घटाउनमा मद्दत पुग्ने हामीले सोचेका थियौँ ।”

स्याङ्जाको भिरकोट नगरपालिका–७ का युवा भविश्वर पौडेलले केही वर्षअघि आविष्कार गरेको बाँदर धपाउने बन्दुक पनि लगेर किसानलाई बाँडेको उहाँले बताउनुभयो । “पछि गाउँकै किसान र युवालाई प्रविधि सिकाएर बाँदर धपाउने बन्दुक गाउँपालिकामै बनाउन र बाँदर प्रभावित किसानलाई वितरण गर्न थाल्यौँ”, पोखरेलले भन्नुभयो, “बन्दुक पड्काउँदा एक वर्षजति त बाँदर भागे, बालीनाली केही जोगियो, तर अहिले बन्दुकलाई पनि बाँदरले टेर्न छाडिसके ।”

बाँदर धपाउन बोटविरुवा र बालीनाली छेउछाउ ब्याट्रीबाट चल्ने ठूल्ठूला कृतिम बाघ, सर्पसम्म राखेर हेरिएको उहाँले सुनाउनुभयो । “बाँदरलाई बस्तीतिर छिर्न नदिन घाँसहरु पनि रोप्यौँ, अण्डाको गन्धले बाँदर आउँदैन भनेर अण्डा फुटाएर रुखमा पनि दलेर हेर्‍र्यौँ”, पोखरेलले भन्नुभयो, “सुने र थाहा भएजतिका उपाय लगाउँदा पनि बाँदर नियन्त्रणमा खास उपलब्धि हुन सकेन, बाँदरको रजगज चलेकै छ ।”

बाँदरले बालीनाली खाइदिएर गाउँपालिकाका किसान हैरान परेपछि बाँदर विज्ञसहित वन विज्ञानका विद्यार्थीलाई नै गाउँमा बोलाएर बाँदरको चरित्र र आनीबानीबारे अध्ययनसमेत गरिएको उहाँले बताउनुभयो । “पहिले बारी र पाखातिर मात्र चहार्ने बाँदर अहिले भान्छामै छिरेर कसौँडीको भातसमेत लगेर जान थाल्यो, घरमा महिला या बालबच्चा देख्यो भने त आक्रमण नै गर्न तम्सिन्छ”, पोखरेलले भन्नुभयो ।

गण्डकी विश्वविद्यालयको अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रका इन्जिनीयर सागरराज पौडेलले ‘ड्रोन’को प्रयोग गरेर बाँदर धपाउने प्रविधिको विकासका लागि आफूहरु अनुसन्धानमा जुटेको बताउनुभयो । उक्त केन्द्रले राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर बाँदर धपाउने बन्दुक पनि बनाइसकेको उहाँको भनाइ छ ।

“पिभिसी पाइप र कार्बाइडबाट बाँदर धपाउने बन्दुक बन्छ, तर अहिले बन्दुकको आवाजसँग पनि बाँदर तर्सन छोडेको किसानले बताउन थालेका छन्, यसमा पनि बाँदर अनुकूलन भइसकेको देखिन्छ”, इन्जिनियर पौडेलले भन्नुभयो, “बाँदर नियन्त्रणका लागि अपनाइएका कुनैपनि विधि र प्रविधि दीर्घकालीन हुन सकेका छैनन् ।”

बाँदर तर्सेर भागोस् भनेर केन्द्रले बाघ, कुकुरलगायत जनावरको आवाजलाई ‘ड्रोन’बाट सुनाउन मिल्ने गरी प्रविधि र यन्त्र निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । वैज्ञानिक डा. महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनीयर रितेश देवसहित विश्वविद्यालयका इन्जिनीयर र प्राविधिक त्यसको अनुसन्धान तथा निर्माणका काममा तल्लिन छन् ।

इन्जिनियर पौडेलले केन्द्रले अहिले नै नयाँ आविष्कार गर्ने नभई भइरहेको प्रविधिमा नवीनता ल्याउन प्रयास गरिरहेको बताउनुभयो । पछिल्लो समय राष्ट्रिय कृषि इन्जिनीयरिङ अनुसन्धान केन्द्रले पनि सोही प्रविधिको बाँदर धपाउने यन्त्र निर्माण गरेर बजारमा पुर्‍याएको छ । केन्द्रका इन्जिनियर प्रवेश यादवले बाँदर नियन्त्रणका लागि उक्त यन्त्र सफल देखिएपछि अहिले विभिन्न स्थानीय तहहरुबाट माग आइरहेको बताउनुभयो ।

“कार्बाइड र पानीबीच रसायनिक प्रतिक्रिया भई उत्पन्न हुने एसिटिलिन ग्यासमा लाइटरको सहायताले आगो लगाएपछि मेसिनबाट ठूलो आवाज निस्कने हुनाले बाँदरलाई तर्साएर भगाउन सकिन्छ”, उहाँले भन्नुभयो । यसअघि बनेका बाँदर धपाउने बन्दुकमा ‘पिभीसी’ पाइपको प्रयोग गरिएकामा केन्द्रले निर्माण गरिरहेको यन्त्रमा भने फलामको पाइप जडान गरिएको छ ।

केन्द्रले उक्त यन्त्रको मूल्य रु एक हजार आठ सय तोकेको इन्जिनीयर यादवले बताउनुभयो । अरु यन्त्रको भन्दा सस्तो मूल्य, फलामको पाइप भएकाले बढी टिकाउने हुने र जमिनमा राखेर पड्काउन सकिने हुँदा किसानलाई सो यन्त्र बढी लाभदायी हुने केन्द्रले जनाएको छ । अहिले चलिरहेको यन्त्रको आवाजसँग पनि बाँदरले आफूलाई अनुकूलन गराएर नतर्सने स्थिति आएमा नयाँ प्रविधिबारे अनुसन्धान थालिने इन्जिनियर यादवले बताउनुभयो ।

पोखरास्थित पशु सेवा तालिम केन्द्रका प्रमुख डा. गृष्म न्यौपानेले नेपालको मध्यपहाडी भूभागमा बाँदरको समस्या बिकराल रहेको बताउनुभयो । “बाँदरको खानेभन्दा बढी बिगार्ने स्वभाव हुन्छ, छिनभरमै बाली सखाप पारिदिन्छ”, उहाँले भन्नुभयो, “किसानले बाली जोगाउन सुरक्षाका विधि अपनाए भने त्यसैबाट पाठ सिकेर प्रतिकुलतालाई अनुकूलतामा बदल्ने खुबी बाँदरले राख्छ ।”

परिवर्तनलाई ग्रहण गर्ने र त्यसमा सजिलै घुलमिल हुन सक्ने क्षमता मानिसपछि सबैभन्दा बढी बाँदरमा रहेको डा. न्यौपानेको भनाइ छ । वन जङ्गलबाट मानव बस्तीतिर सरेर सामाजिकीकरण हुन खोजिरहेको बाँदरलाई फेरी जङ्गलतिर फर्काउने काम सजिलो नभएको डा. न्यौपानेले बताउनुभयो ।

“बाँदरलाई पारिस्थितिक प्रणालीसँग जोडेर हेर्नुपर्छ, हामीले बाँदरको संख्या बढ्यो मात्र भनिरहेका छौँ,”, उहाँले भन्नुभयो, “पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि मानिसलाई त्यस्तो लागेको मात्र पनि हुन हुनसक्छ, वनजङ्गलमा उचित आहारा र वातावरण नपाएका कारण यथार्थमा बाँदरको संख्या घटेको पो छ की ? योतर्फ अहिलेसम्म कुनै खोज, अनुसन्धान भएको छैन ।”

चलाख र अरुको देखासिकी गर्ने बानीका कारण किसान मात्र नभएर विज्ञ र अनुसन्धानकर्मीलाई समेत बाँदरले झुक्काइरहेको डा. न्यौपानले बताउनुभयो । “पहिले बाँदर लखेट्ने कुकुर अहिले उल्टै बाँदरसँग डराउनुपर्ने स्थिति छ, बाँदरको खाने बानीमा परिवर्तन आएको छ, पछिल्लो समय सुन्तला, प्याज, जसुनलगायतलाई पनि बाँदरले आहारा बनाउन थालेको छ”, उहाँले भन्नुभयो, “पहिले बाँदरको हातमा नरिवल भनेर अरुलाई गिज्याउने गरिन्थ्यो, अहिले बाँदरले नै नरिवल फोडेर खाएको देखिन्छ ।”

डा. न्यौपानले निर्दयी क्रियाकलापबाट नभई मानवीय उपायबाट नै बाँदरको समस्या हल गर्नुपर्ने धारणा राख्नुभयो । “संरक्षित जनावर भएकाले बाँदरलाई मार्न वा चोरीपैठारी गर्न पाइँदैन, बाँदर प्रकृति र जैविक विविधताको पनि एक हिस्सा हो”, उहाँले भन्नुभयो, “बाँदर व्यवस्थापनका लागि राज्यले ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक छ ।”

बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाइएका उपाय र विधि अल्पकालीन समाधान मात्र भएको डा. न्यौपानेको भनाइ छ । बन्दुक पड्काएर बाँदर लेखेट्ने तरिका पनि सँधै काम नलाग्ने उहाँले बताउनुभयो । “कुनै एकमात्र विधि अपनाएर बाँदर व्यवस्थापन गर्न सकिँदैन, कानूनी परिधिभित्र रहेर विभिन्न विधिको एकीकृत प्रयोग गर्नुपर्छ”, डा. न्यौपानेले भन्नुभयो ।

खेती गरिएको जमिन र वन सँगसँगै हुँदा पनि बाँदरको समस्या थप जटिल बनेको उहाँको भनाइ छ । जङ्गलमै आहाराको व्यवस्थापन गर्न सके बाँदर बस्तीतिर नछिर्ने डा. न्यौपानेले बताउनुभयो । “काफल, बयर, चुत्रो, ऐसुले, कटुस जस्ता फलफूल कन्दमुल प्रशस्त मात्रामा वनमै उपलब्ध हुन सके बाँदर आहाराकै खोजीमा बस्तीतिर आउँदैन”, उहाँले भन्नुभयो ।

बाँदरबाट प्रभावित किसानलाई वैकल्पिक खेती प्रणालीमा जान प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ छ । बाँदर लाग्ने ठाउँमा पशुपालन, पक्षीपालन, माहुरीपालन, रेशम खेती, च्याउ खेती, घाँसखेतीलगायत गर्न सकिने डा. न्यौपानेको सुझाव छ । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उहाँले बताउनुभयो ।

“महिला र बालबच्चालाई बाँदरले टेर्न छाडिसक्यो, कुकुरसँग पनि अचेल डराउँदैन, फेरी गाउँघरमा बाँदर लखेट्ने मानिस पाउन पनि कठिन छ, बरु राज्यले नै बाँदर लखेट्ने कृषि रक्षक राख्नेबारे किन विचार नगर्ने ?”, उहाँले भन्नुभयो । विज्ञहरुले बाँदरको संख्या वृद्धि हुन नदिन जन्मदर नियन्त्रणको कार्यक्रम चलाउनुपर्ने सुझावसमेत दिने गरेका छन् ।

‘एक घर, एक बाँदर’ पाल्ने रणनीति तय गर्नुपर्ने, बाँदरको व्यवस्थित सिकारका लागि कानुनी प्रबन्ध हुनुपर्ने जस्ता आवाज पनि बेलाबेला उठ्ने गर्छन् । अनेक उपाय र विधि अपनाउँदा पनि बाँदरले बालीनालीमा नोक्सानी पुर्याउन नछाडेपछि किसान भने आजित छन् । बाँदरकै कारण आत्महत्यादेखि बसाइँसराइले गाउँ नै स्थानान्तरण भएकासम्म दुःखदायी खबर सुन्नु परिरहेको छ ।

स्थानीय तहले बाँदर नियन्त्रणका लागि बर्सेनि लाखौँ रुपैयाँ खर्चेका छन् । तर बाँदरले किसानको बालीनालीमा बितण्डा मच्चाउन छाडेको छैन । नेपालमा खासगरी रातो, आसामी रातो, नेपाली खैरो लङ्गुर, तराई खैरो लङ्गुर र हनुमान लङ्गुर प्रजातिका बाँदरको बाहुल्य रहेको बताइन्छ ।

समूहमा हिँड्ने र बालीनालीलाई छिनभरमै सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका हुन् । बाँदरबाट क्षति हुने कृषिजन्य उपजको क्षतिपूर्ति तथा बीमाबारे कानुनी प्रबन्ध गरिनुपर्ने किसानको माग सुनुवाई हुन सकेको छैन । सर्वोच्च अदालतले बाँदरबाट हुने क्षतिको क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको वर्षौँ बित्दासमेत कार्यान्वयन हुन सकेको छैन ।

बाँदरले हैरानी दिएपछि तनहुँको डुम्रेका किसानले बाँदर आतङ्क नियन्त्रण सङ्घर्ष समिति नै गठन गरेका छन् । उक्त समितिले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा यही माघ ११ गते ध्यानाकर्षणपत्र बुझाउँदै बाँदर बन्ध्याकरणलगायत बाँदर नियन्त्रणका उपायबारे अध्ययन÷अवलोकनका लागि भारतको हिमाञ्चल प्रदेश जान लागेको समितिको टोलीमा बाँदर प्रभावित किसानलाई पनि समेट्न आग्रह गरेको थियो ।

समितिमा बाँदर प्रभावित किसानबाट उजुरी तथा गुनासो आउने क्रम बढेपछि भारतीय दूतावासको सहयोगमा विज्ञसहितको टोली बाँदर बन्ध्याकरणबारे तालिम लिन र अवलोकन भ्रमणका लागि छिट्टै त्यसतर्फ जाने भएको हो ।

बाँदरलाई ‘हानिकारक’ वन्यजन्तुको सूचीमा राखेर बात नलाग्ने गरी बाँदर मार्न पाउने अधिकार स्थानीय तहलाई दिनुपर्ने कतिपय विज्ञहरुको सुझाव छ । ठूल्ठूला उद्यान बनाएर ती उद्यानमा बाँदर राखेर बाँदर सरंक्षण र व्यवस्थापन गर्न सकिने विज्ञहरु बताउँछन् । वनजङ्गलमा बाँदरले रुचाउने खानेकुरा र घर वरपर बाँदरले नरुचाउने बोट बिरुवा लगाउँदा पनि बाँदर नियन्त्रणमा सघाउन पुग्ने उनीहरुको भनाइ छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव केदार बरालले बाँदर नियन्त्रणका लागि जिल्लास्तरमा वनजन्य फलफूल खेती कार्यक्रम सञ्चालन गरिएपनि त्यो प्रयाप्त नभएको बताउनुभयो । “प्रदेश सरकारले बाँदरबाट क्षति व्यहोरेका किसानलाई क्षतिपूर्ति दिने नीति पनि ल्याएको छ”, उहाँले भन्नुभयो, “मुख्य रुपमा आहाराकै खोजीमा बाँदर मानव बस्तीतिर छिरेको पाइन्छ, यसलाई रोक्न बाँदरलाई मनपर्ने कन्दमुल, फुलफूल र बोटविरुवा वनमै रोप्नुपर्छ ।”