संरक्षणको प्रतीक्षामा बेलौरी नगरपालिकास्थित पुरैनी ताल

कञ्चनपुर, २० फागुन । बेलौरी नगरपालिका–६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन् । ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ ।

ताल वरिपरिको सीमसार क्षेत्रमा आहार खोज्दै गरेका बथानका बथान चरा अवलोकनसँगै मोबाइलमा सेल्फी खिच्नेहरू पनि ताल क्षेत्रमा पुग्ने गर्दछन् । तालमा डुबुल्की मार्दै आहारा खोज्दै गरेका चराको गतिविधि हेर्न लायक हुने गरेको छ । चराको अनुसन्धान गर्नेहरूका लागि यो तालले विशेष महत्व राख्दछ । ताल २९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

ताल क्षेत्रमा आगन्तुक चराहरू उत्तरी ध्रुवमा चिसो बढ्दै गएपछि घण्टाको उडान गरी हिमाल छिचोल्दै पुग्ने गर्दछन् । कात्तिक महिनादेखि नै प्रवासी चराको ताल क्षेत्रमा चहलपहल सुरु हुने गरेको स्थानीय बासिन्दा वीरबहादुर रावलले बताउनुभयो ।

“तालमा धेरै चराका प्रजाति पुसदेखि देखापर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “गर्मी हुने क्रमसँगै वैशाखदेखि प्रवासी चरा ताल छाडेर पुरानै बासस्थानमा फर्कने गर्दछन् ।” दशकअघि तालमा पानी बढी हुने हुँदा चराको सङ्ख्या पनि बढी हुने गरेको उल्लेख गर्नुहुँदै उहाँले हाल तालमा पानी कम हुने भएकाले चरा पनि कमै देखिने गरेको बताउनुभयो ।

तालमा कुर्मा, बतख र गरुड प्रजातिका चरा बढी देखिने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार ती चरासँगसँगै ताल क्षेत्रमा प्रवासी सिकारी चराको उपस्थिति पनि बाक्लो हुने गरेको छ । गर्मी सुरु भएपछि प्रवासी चरा फर्केर जाने गरे पनि रैथाने प्रजातिका चरा भने ताल क्षेत्रको सीमसार क्षेत्रमा वर्षभरि नै देखिने गरेको उहाँले बताउनुभयो । पहिला आउने ठूला शरीर भएका चरा भने केही वर्षदेखि आएको नदेखिएको रावलले उल्लेख गर्नुभयो ।

चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सिकारी तालपछि सबैभन्दा बढी प्रजातिका प्रवासी चरा पुरैनी तालमा देखिने गरेका छन् । “यो ताल चराको स्वर्ग नै हो”, उहाँले भन्नुभयो, “संरक्षित क्षेत्र बाहिरको सबैभन्दा बढी चरा यहाँ पाइने गरेका छन् ।” यस वर्षको जलपक्षी गणनाका क्रममा तालमा ५५ प्रजातिका चरा देखापरेको उहाँले जानकारी दिनुभयो । चराको नयाँ प्रजातिमा यस वर्ष ताल क्षेत्रमा लाल टाउके गरुड देखापरेको उहाँले जानकरी दिनुभयो ।

सङ्कटापन्न सूचीमा रहेका मालक र नक्टा हाँसको सङ्ख्या ताल क्षेत्रमा सन्तोषजनक रहेको चराविज्ञ डगौरा बताउनुहुन्छ । “एकै तालमा यति धेरै चराको प्रजाति पाइनु यस क्षेत्रका लागि गर्वको कुरा हो”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई चरा पर्यटन क्षेत्रका रूपमा विकास गरिनुपर्छ ।”

चरा पर्यटनलाई उच्चस्तरका रूपमा हेरिने गरिएको कुरामा जोड दिँदै उहाँले चरा अवलोकन गर्न आउने पर्यटक आर्थिक अवस्था राम्रो भएका हुने गरेको बताउनुभयो । “चरा हेर्नकै लागि पर्यटक तालसम्म पुग्ने गर्दछन्”, उहाँले भन्नुभयो, “कुनैले सौखका लागि फोटो खिच्ने, कोही आत्मशान्तिका लागि चरा भएका क्षेत्रमा घुम्नका लागि पुग्ने गर्दछन् ।”

ताल क्षेत्रको जलकुम्भी हटाएर चरा बस्नका लागि आइल्याण्ड निर्माण गर्ने कार्यसँगै समुदायस्तरमा चरा संरक्षण र बासस्थान सुरक्षाका लागि जनचेतना जगाउने कार्यमा स्थानीय सरकारले दत्तचित्त भएर लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

चराचुरुङ्गी पर्यटन प्रवर्द्धनका माध्यमबाट विदेशी पर्यटकलाई आकर्षित गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । प्रदेशका नौवटै जिल्लामा चरा संरक्षण कार्यक्रम समावेश गरेर कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुहुँदै उहाँले पर्यटकीय पूर्वाधार निर्माण, बासस्थान संरक्षण, जलाधार क्षेत्र संरक्षणलगायतका कार्यक्रम अघि सारिएको बताउनुभयो । “इको टुरिज्मको मुख्य पाटो भनेकै चरा अवलोकन गर्नु नै हो”, उहाँले भन्नुभयो, “रैथाने प्रवासी चरा–मानव सम्बन्धलाई पर्यापर्यटनसँग जोड्नु आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *