थुनुवालाई समाउन खोज्दा प्रहरी जवानको लडेर मृत्यु

धनगढी, २८ फागुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट हतकडीसहित भागेका थुनुवालाई पक्राउ गर्न गएका प्रहरी जवानको लडेर मृत्यु भएको छ।

जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको हाे । चौधरी कैलालीका हुन्।

भागेका थुनुवा कुँवरलाई समात्न प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। त्यसक्रममा उनी भिरमा पुगेका थिए भने लडेर उनकाे टाउकोमा चोट लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जवान चौधरीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिएको छ।