सुन तस्करी प्रकरणमा हिजो एमालेले उठाएकाे विषय सही प्रमाणित भयो : प्रमुख सचेतक बर्तौला

काठमाडौं, २ चैत्र । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा नेकपा एमालेले संसदमा दिइएको दबाब र अवरोध सही सावित भएको जनाएको छ ।

एमालेका प्रमुख सचेतक बर्तौलाले छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न त्यसबेला आफूहरूले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको बताउनुभएकाे हाे ।

सरकारले पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले सीआईबीको अनुसन्धानमा गम्भीर लापरवाही देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयाे, ‘हाम्रो मागमा त्यसबेला निकै विवाद र वहस भयो तर अहिले आएर आयोगले जे प्रतिवेदन दियो त्यसले एमालेको आशंका सही रहेछ भन्ने पुष्टि भयो’ ।

प्रमुख सचेतक बर्तौलाले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लगेर विभागीय कारबाही गर्नुपर्नेलाई गर्ने र दोषी ठहर भएकालाई मुद्दा चलाउने प्रक्रियामा जानुपर्ने बताउनुभयाे ।