काठमाडौँबाट खोटाङ जाँदै गरेकाे जीप सिन्धुलीकाे सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता

काठमाडौँ, १ कात्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

आज बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनास्थलमा तीन महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक ओखलढुंगाका २९ वर्षीय आशीष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर लगिएको थियो । थप उपचारका लागि चारै जनालाई एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा  सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक र गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *