जितका लागि नेपाललाई ७४ रनको लक्ष्य
काठमाडौं, ५ वैशाख । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएकाे छ ।
टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको हाे ।
ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ ओभरमा झारिएको थियो ।
साउदी अरेबियाका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।
समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।