सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गर्दै
काठमाडौं, २० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जारी खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङ थालेको हो।
कर्णालीले यसअघि खेलेका तीनमध्ये दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो। कर्णालीको चार अंक छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले र तेस्रो खेलमा विराटनगर किङ्ससँग ३५ रनले पराजित भएको थियो।
त्यस्तै, दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले र चौथो खेलमा चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमको पनि चार अंक छ।
समान चार अंक रहेका दुवै टोली आजको खेल जित्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
