सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
काठमाडौं, २० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो।
सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे। विनोद भण्डारीले २२ बलमा २७ रन तथा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन जोडे। त्यस्तै, इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायके २२ र स्कट कुग्गेलेइन १३ रनमा अविजित रहे।
बलिङतर्फ कर्णाली याक्सका मार्क वाटले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए। नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान एक–एक विकेट हात पारे।
१७७ रनको लक्ष्य पछ्याउँदै कर्णाली याक्स अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।
