आहा ! मेरो प्यारो ओखलढुंगा (भिडियो)

काठमाडौं, ६ वैशाख । काठमाडौंबाट भक्तपुर, साँगा, बनेपा, सिन्धुलीहुँदै घुर्मीबाट ४२ किलोमिटरको दूरी पार गरेपछि १६७ दशमलब ८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ओखलढुंगा जिल्लाको सदरमुकाममा अवस्थित सिद्धिचरण नगरपालिका पुग्न सकिने रहेछ ।

भिडियो हेर्न क्लीक गर्नुहोस्

चैतको अन्तिम हप्ता हामी ओखलढुंगा पुग्दा १७ औं शताव्दीतिरदेखि ओखल आकारको खोपिल्टोको एउटा ढुंगो प्राचीन र गौरवपूर्ण इतिहास बोकेर गजधुम्म परेर सानसँग बसिरहेको थियो । हो, अनि त्यहि ढुंगाको समीपमा सूर्यचन्द्र अंकित झण्डा फहराई रहेको थियो भने यूगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको सालिक स्वर्णिम इतिहासको शीर बनेर ठिङ्ग उँभिरहेको थियो ।

प्राचीन इतिहास बोकेको ढुंगो हेर्ने, सिद्धिचरणको जन्मभूमिको माटो टेक्ने अनि त्यहाँको इतिहास बुझ्ने मनोकाङ्क्षा बोकेर विहानको झुल्केघाँमसँगै हामी ओखलढुंगा पुग्दा ओखलढुंगाकै समीपमा पूर्णकदमा सालिक बनेर उभिँएका सिद्धिचरण अनि सिद्धिचरको सालिककै समीपको भित्तामा लेखिएको ‘मेरो प्यारो ओखलढुंगा’लाई पृष्ठभूमिमा राखेर तस्बिर, भिडियो र सेल्फी खिच्नेहरुको भीड देखिन्थ्यो । अनि त्यहि नजिकै एउटा फ्लेक्समा लेखिएको थियो सिद्धिचरण श्रेष्ठको ‘मेरो प्यारो ओखलढुंगा’ शीर्षकको कालजी कविता । मलाई ती कविताका केही हरफ बाचन गर्ने हुटहुटि जाग्यो र मैले आफ्नै लय र शैलीमा ती कविताका केही हरफ यसरी बाचन गरेँ ।

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल वित्यो
हाँस्यो, खेल्यो, वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !

जब म चढेर भावको डुंगा
सैर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीलता जल
सुख स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा !

केही हरफ कविता बाचन गर्दै मेरो ह्दयमा पनि सिद्धिचरणको कवितामा त्यो तामाकोशी, त्यो सुनकोशी, त्यो गिरिफोरी बहने रोशीसहितको पवित्र ओखलढुंगाको माटोमा स्पर्श गरिरहेको अनुभूति भयो । म केहीबेर कवितामा हराए । एक पटक फेरि सिद्धिचरणको पूर्णकदको सालिक मुन्तिर मार्वलमा कुँदिएका केही हरफ कविताले मलाई तान्यो ।
हिमगिरि मण्डित, सुगन्ध शोभित
जय जय आमा नेपाल
आर्य, अनार्य, बौद्ध र हिन्दु मिश्रित
हाम्रो देश विशाल !


पार्क भित्रै पूर्णकदको सालिक बनेर उँभिएका सिद्धिचरण नजिकै ‘मेरो प्यारो ओखलढुंगा’ लेखिएको कृत्रिम छहरामा पानी बगिरहेको थियो भने त्यो पार्कमा पनि भिडियो खिच्ने, तस्बिर खिच्ने र सेल्फी खिच्नेहरुको भीड देखिन्थ्यो भने विभिन्न जातजाति र भाषाभाषी अनि भेषभूषाका प्रतिमाले पार्कले बहुजाति, बहुभाषी र बहुधार्मिकहरुको अपनत्व बोध गराउने प्रयास गरेको प्रष्ट देखिन्थ्यो ।

१७ औं शताव्दीतिर काठमाडौंका मल्ल राजा लक्ष्मीनरसिंह मल्लको पालामा तत्कालीन किँरात राज्यको पूर्वीक्षेत्रको सुरक्षाका लागि काजी भीम मल्लको नेतृत्वमा त्यो ठाउँमा पुगेको र ओखल आकारको खोपिल्टोमा धान कुटी भात पकाएर खाएकाले त्यसपछि त्यो ठाउँको नाम नै ओखलढुंगा रहेको भन्ने किम्वदन्ती मैले सुन्दै आएको थिएँ । सोही आधारमा यस ठाँउको नाम ओख्लीढुङ्गा भनिने गरिएको र पछि ओखलढुङ्गा भनिएको अनि सोही ऐतिहासिक स्थानको आधारमा यस जिल्लाको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने किम्वदन्ती पनि मैले सुन्दै आएको थिएँ ।

ओखलढुंगाको इतिहासबारे थप केही तथ्यहरु बुझ्ने उत्कट चाहना राख्दै पार्क वरीपरिका सुन्दर दृष्यहरुलाई कैद गर्दै गर्दा कोशेलीघर अघिल्तिर राष्ट्रिय बाणिज्य बैंकबाट अवकाश लिइसक्नु भएका समाजसेवी धु्रवबहादुर राजभण्डारीसँग टुप्लुक्क भेटभयो । उहाँसँग मैले ओखलढुंगाको इतिहासबारे थप जिज्ञासा राखेँ । ओखलढुंगाकै आडमा कोशेलीघर सञ्चालन गरेर त्यहाँ राडीपाखीदेखि, डाला, ठेकी र थैलीदेखि मुरली, ओखल र फुचेलसम्म राख्दै आउनु भएका राजभण्डारीलाई त्यहाँको इतिहासबारे कण्ठ रहेछ ।
विष्णुचरण श्रेष्ठ आफ्नी पत्नी कुमारी श्रेष्ठका साथ तत्कालीन माल अड्डामा जागिरे भई ओखलढुंगा आएका बेला युगकवि सिद्धिचरण श्रेष्ठको यहि ठाउँमा वि.सं १९६८ साल जेठ ९ गते जन्म भएको भन्ने इतिहास पनि मैले सुन्दै आएको थिएँ । यसबारे पनि राजभण्डारीले धेरै कुरा सुनाउनुभयो ।

कुनै समय जीर्ण अवस्थामा रहेको ओखलढुंगाको संरक्षण गर्ने, त्यहाँ सुन्दर पार्क निर्माण गर्ने, संग्राहलय बनाउने जस्ता कामको खास अगुवाई २०७० सालमा ओखलढुंगाबाट संविधानसभाको सदस्य निर्वाचित भएपछि यज्ञराज सुनुवारका पालबाट भएको रहेछ । स्थानीय तहले पनि त्यहाँको पार्क निर्माणमा योगदान गर्दै आएको रहेछ । त्यहाँको पार्क निर्माणबारे पूर्वसांसद सुनुवारले पनि केही बेलिविस्तार लगाउनुभयो ।

सुनुवार सांसद रहेकै बेलामा सांसद विकास कोषको करीब १ करोड १० लाख र योगेश भट्टराई पर्यटनमन्त्री भएका बेला पर्यटन मन्त्रालय र स्थानीय तहको गरी करीब ३ करोड ५० लाखको लगानीमा सिद्धिचरणपार्क नजिकै स्रष्टापार्कको पनि निर्माणकार्य द्रुतरुपमा अघि बढेको रहेछ । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले सिलान्यास गरेको पार्क अहिले द्रुत गतिका साथ निर्माण भैरहेको रहेछ ।

पूर्व सांसद सुनुवारले नै स्रष्टापार्कको अवलोका लागि प्रस्ताव राखेपछि हामी सिद्धिचरणको सालिकलाई देब्रे पारेर केहीबेरको नाकठोकिने उकालो सिँढि चड्दै गर्दा पार्कको खुला व्यायमशालामा बुढाबुढी, युवा र केटाकेटी आफ्नै तालमा खेल्न र व्यायममा व्यस्त देखिन्थे । स्याँस्याँ र फ्याँफ्याँ गर्दै नाक ठोकिने उकालो उक्लिएका हामीलाई कतै गुराँस फूलिरहेका त कतै सल्लाका रुखहरु सुसाइ रहेको आवाजले आनन्दित बनाइरहेको थियो ।

हामी केही उकालो उक्लिएपछि हिन्दुहरुको आस्थाको मन्दिर भेटियो भने त्यसको केही पर पुगेपछि वौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र स्तूपा पार्कको डाँडामा सान बनेर उभिरहेको थियो । पूर्वसांसद सुनुवारसँगै पार्क अवलोकनका लागि मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राई, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, ओखलढुंगाकै युवा सञ्चारकर्मी पूर्णप्रसाद न्यौपाने, मानेभञ्ज्याङ गाउँपालिका स्थायी घर भएका शम्भू अधिकारीलगायत स्तूपामा पुगेर एकफन्को लगायौँ । हामीले स्तूपालाई एकफन्को लगाएपछि अध्यक्ष राईले स्तूपालाई पृष्ठभूमिमा राखेर केही जानकारी दिनुभयो ।
स्तूपाबाट केही अघि बढेपछि चार जना स्रष्टाहरुको प्रतिमा राखिएको रहेछ । सुनुवारले ती प्रतिमाको बेलिविस्तार यसरी लगाउनुभयो । केहीबेर पार्क घुमेपछि मैले नेपालको प्रथम महिला गायिका मेलवादेवी, युवा कवि सिद्धिचरण श्रेष्ठ मात्रै होइन वरिष्ठ लोकगायक पाण्डव सुनुवार र राष्ट्रिय गानाका रचयिता व्याकुल माइला जन्मिएको पवित्र माटोका केही दृष्यहरु केन्द्र गर्न डाँडाबाट क्यामेरा घुमाउँदा कतै गुराँस फुलेका त कतै सल्लिपिरका रुखहरु अनि वरपरका सुन्दर दृष्यहरुले थप महोहित बनायो ।

ओखलढुंगाको ऐतिहासिकतासँगै प्राचीन संस्कृति र परम्परासँग जोडिएका यी पार्कको संरक्षण र संवद्र्धन गर्न सक्ने हो भने एकातिर स्रष्टाहरुको सम्मान हुने र अर्कोतर्फ ओखलढुंगालाई पर्यटकीय स्थलका रुपमा विकास गर्दै समृद्ध नेपाल नेपालका लागि सानो इट्टा थप्न सकिने मनोभावना मनभरी खेलाउँदै हामी त्यहाँबाट निस्कियौँ ।

भिडियो हेर्न क्लीक गर्नुहोस्