मदन–आश्रितलाई मदननगरबाट संकल्पको श्रद्धासुमन (भिडियो रिपोर्ट)
काठमाडौं, ३ जेठ । २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको तत्कालिन ढुङ्गेसाँघु गाविसको वडा नम्बर ८ को ठोट्नेमा जन्मिनु भएका मदन भण्डारी अहिलेसम्म जिवित रहनु भएको भए उहाँ ७२ को वयमा हिँडिरहनु हुनुहुन्थ्यो । पिता देवीप्रसाद र माता चन्द्रकला भण्डारीका ६ दाजुभाई र ५ दिदीबहिनीमध्येका मदन माइलो छोरा हुनुहुन्थ्यो । पुष्पलाल समूहको नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक सङ्घको केन्द्रीय सदस्य हुँदै २०२९ सालमा नेकपा पुष्पलाल समुहको सदस्य हुनुभएका मदन २०३३ सालमा मुक्तिमोर्चा समूहको सदस्य हुनुभएको थियो ।
२०३४ सालमा अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट को–अर्डिनेशन कमिटीको केन्द्रीय सदस्य बन्नुभएको थियो । २०३५ सालमा मालेको संस्थापक केन्द्रीय सदस्य, ०४१ मा पोलिट्ब्युरो सदस्य र २०४६ सालमा भएको चौथो महाधिवेशनबाट महासचिव निर्वाचित हुनुभएका भण्डारी २०४७ सालमा नेकपा (एमाले)को महासचिव बन्नुभएको थियो ।
२०४८ सालमा प्रतिनिधिसभाको सदस्य निर्वाचित हुनुभएका उहाँ २०४९ सालमा भएको नेकपा (एमाले)को पाँचौँ महाधिवेशनबाट पुनः महासचिव निर्वाचित हुनुभएको थियो ।
३७ वर्षको कलिलो उमेरमै नेकपा (माले)को महासचिव बन्नु भएका भण्डारी त्यसको करीब एक वर्षपछि नेकपा (एमाले)को महासचिव बन्नुभएको थियो ।
महासचिव रहेकै बेला पोखराको कार्यक्रम सम्पन्न गरेर फर्किने क्रममा मदन २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा आफू सवार पजेरो दुर्घटनामा परी आफूसँगै तत्कालिन संगठन विभाग प्रमुख जिवराज आश्रित पनि सधैँका लागि अस्ताउनु भएको थियो । अहिले हाम्रा सामू मदन पनि हुनुहुन्न अनि जिवराज पनि ।
तर, मदनकै अगुवाईमा प्रतिपादन भएको नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बिचारको स्रोत जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलनको कालजयी बिचार बनेर उहाँको निधनको ३१ वर्षपछि पनि उत्तिकै सान्दर्भिक बन्दै आएको छ ।
मदन समकालीन राजनीतिका प्रखर चिन्तक मात्रै होइन उहाँ स्वप्नद्रष्टा, वर्गीय चेतनाका उद्बोधक, माक्र्सवाद–लेनिनवादका सिर्जनात्मक व्याख्याता अनि जनताको बहुदलीय जनवादका सिद्धान्तकार पनि हुनुहुन्थ्यो । हो, कम्युनिष्ट आन्दोलन लोकतान्त्रीकरणका नायक एवं जनताको अधिकारको पहरेदार मात्रै होइन राष्ट्रवादी नेता भण्डारीको २०५० साल जेठ ३ गते निधन हुँदा तत्कालिन नेकपा (एमाले)ले आफ्ना दुई दुई प्रिय नेता मात्रै गुमाएको थिएन । नेपाल र नेपालीले दुई क्रान्तिकारी छोराहरु पनि गुमाएका थिए ।
आज उहाँहरुकै सम्झनामा मुलुकभरी नै विभिन्न कार्यक्रम भएका छन् ।
नेकपा (एमाले)को पुरानो मुख्यालय परिसर अहिले खण्डहर बनेको छ । कुनैबेला गुलजार बन्ने मदननगर भूकम्पपछि भने सुनसान बन्दै आएको छ । गजुरसहितको रातघर अहिले त्यहाँ छैन । पुराना छाप्राहरु पनि अहिले खण्डहर बनेका छन् । पछिल्लो सयम सधैँ सुनसान बन्ने मदननगर आज भने निकै गुलजार बनेको थियो । मदनपत्नी विद्यादेवी भण्डारी अहिले पूर्वराष्ट्रपतिको हैसियतमा हुनुहुन्छ ।
आज मुख्यालयमा मदन–आश्रितको सम्झनामा आयोजना गरिएको श्रद्धाञ्जलिसभामा भण्डारी मात्रै होइन, आश्रित पत्नी मायादेवी पनि पुग्नु भएको थियो । एमालेको पुरानो मुख्यालय परिसरमा मदनका दुई छोरी उषाकिरण र निशाकिरण पनि पुग्नु भएको थियो । आश्रितकी छोरी पनि मुख्यालय पुग्नु भएको थियो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरले, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्वा गुरुङ, विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, रघुविर महासेठ, पद्मा अर्याल, अनुशासन जनसंगठन संमन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य डाक्टर राजन भटराईलगायतका नेता पनि मदननगर पुग्नु भएको थियो ।
बिहानको घुल्केघाँमसँगै नेताहरु मुख्यालय पुग्दा एमालेको मुख्यालय परिसरमा अडिग भएर मदनको शालिक गजधम्मसँग बसिरहेको थियो । ओली भन्दा केही मिनेट अघि नै मदननगर पुग्नु भएकी भण्डारीको मुहारमा ३१ वर्ष अघि आफ्ना पति गुमाउनु पर्दाको पीडा छचल्किएको अनुभूति हुन्थ्यो । मदननगरमा मुख्यालय रहुन्जेल प्रायः पार्टी भित्रै प्रतिपक्ष जस्तो भूमिकामा रहनु भएका ओली आज त्यहि पुरानो मुख्यालय परिसरमा पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्षसहतिको शक्तिशाली हैसियतमा पुग्नु भएको थियो ।
कुनै बेला मदननगरको गोटबाट ओली प्रवेश गर्दा धेरैलाई जानकारी पनि नहुन सक्थ्यो । तर, आज भने गेटदेखि नै उहाँको स्वागतमा सयौँ कार्यकर्ताहरु लाम लागेर उँभिएका थिए । गेटमै उहाँको स्वागतमा बसेका काठमाडौंँ महानगरपालिका वडा नम्बर–१४ का कार्यहरुले पार्टी मुख्यालय यहि स्थानमा बनाउन ओलीसँग माग गरिरहेका दृष्यहरु पनि देखिन्थे ।
भण्डारी पुगेको केहीबेरपछि ओली पनि मदननगर पुग्नुभयो । ओली पनि मदननगर पुगेपछि मदनको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको रहेछ । भण्डारी केही भावुक बन्दै मदनको शालिकमा पुग्नुभयो र माल्यार्पण गर्नुभयो । पृष्ठभूमिमा शोकधून बजिरहेको थियो । भण्डारीपछि ओलीले पनि पत्नी राधिकासँगैँ शालिकलाई शीर निहुराएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
त्यसपछि जिवराज पत्नी माया, मदन र जिवराजका छोरीहरुले पालैपालो माल्यार्पण गर्नुभयो । त्यसपछि मञ्चमा पुग्नुभएका ओलीले मदनलाई सम्झिनुभयो । उहाँले मदन–आश्रितलाई संकल्पको श्रद्धासुमन व्यक्त गर्नुभयो । ‘म मदन भण्डारी र जिवराज आश्रितलाई संकल्पको श्रद्धासुमन व्यक्त गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो प्रतिवद्धताको श्रद्धासुमन पनि हो ।’
ओलीले मदन–आश्रितले देखाएको बाटोबाटै मिशन–८४ सफल बनाउने पनि उल्लेख गर्नुभयो । उहाँले महान पूर्खाहरुबाट निर्देशित, तिनका आदर्शबाट निर्देशित, सहिदका बलिदानबाट निर्देशित र प्रेरित अनि अग्रहरुको भिजनरी स्ट्याण्डबाट अघि बढिरहेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा ओलीले मात्रै सम्वोधन गर्नुभयो । औपचारिक कार्यक्रमपछि पनि त्यहाँ नेताहरुको भीड थियो ।
आजै नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका नवनिर्वाचित कमिटीलाई सपथ खुवाउने कार्यक्रम पनि तय भएको रहेछ । गणेश श्रेष्ठको नेतृत्वमा निर्वाचित नवनिर्वाचित कमिटीलाई पनि मदनको शालिकलाई साक्षी राखेर सपथ खुवाइएको थियो ।