हामी ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने युवा बनौँः उपप्रमुख डंगोल
काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सफलता चुम्न सपना देख्नुपर्ने बताउनु भएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आयोजना गरेको ‘युवा’ विचार गोष्ठीलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘सपना देख्नमा एक रति पनि कन्जुस्याईँ नगरौँ, सपना देखौँ,’ उहाँले भन्नुभयो, ‘सपना देखेर मात्रै हुँदैन । सपना पूरा गर्ने आँट पनि चाहिन्छ । हामीले मनैबाट सोच्ने गर्नुपर्छ । कसैले हुँदैन भने पनि, गाली गरे पनि अडिक भएर म सपना पूरा गर्न सक्छु भनेर आँट अघि बढ्नुपर्छ ।’ उहाँले सपना देखेर पनि आँट भएन भने सपना पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले आफूले अहिले चुनावी घोषणपत्र अनुसार नै काम गरिरहेको पनि उल्लेख गर्नुभयो । डंगोलको संवोधनका केही महत्वपूर्ण अंशः
युवामा जोस–जाँगर छ, युवा सचेत छन् । युवाले राजनीति मात्रै होइन हरेक क्षेत्र हाँक्न सक्छ भन्ने व्यक्तिका रुपमा म यहाँ उँभिएकी छु । यो उर्जा यहाँहरुमा देख्दा पनि धेरै खुशी लागेको छ । युवालेले सहर हाँक्न सक्छ है भनेर तपाईँहरुले विश्वास गरेपछि मैले यो जिम्मेवारी प्राप्त गरेको हुँ । युवा र अझ त्यसमा पनि महिला राजनीतिमा आउने कुरा एकदमै विरलै हो । तर, त्यो विरलैलाई चिर्दै अघि बढ्दा तपाईँहरुले मेरो सपनालाई विश्वास गर्नुभयो । पार्टीले युवालाई अघि सार्नुपर्छ भनेर विश्वास गर्यो । अब हामीले पनि आउँदो पुस्तालाई विश्वास गर्नुपर्छ । हामीले युवालाई बाटो बनाई दिनैँपर्छ । त्यसको अर्थ इतिहासलाई नकार्ने भन्ने पक्कै होइन । इतिहासलाई सम्मान गर्दै आफू भन्दा अग्रजलाई पनि सम्मान गर्दै अब युवा सोँचले अघि बढ्नुपर्छ । राजनीतिक प्रणालीमा युवाहरुको खाँचो छ ।
हामी राजनीतिमा यो पुरानो पार्टी, यो बुढो पार्टी भनेर विभिन्न भाष्य बनाएको देख्छौँ, सुन्छौँ । पार्टी कहिल्यै पनि बुढो हुँदैन । हामी मानिस बुढो हुँदै जाने हो । पार्टी सधैँ युवा हुनुपर्छ । त्यसका लागि युवा सहभागिता आवश्यक छ । पार्टी सधैँ सोँचमा, सिद्धान्तमा, काम गर्ने शैलीमा युवा हुनुपर्छ । युवापनले गर्दा पार्टीको प्रतिष्ठा सधैँ रहन्छ । युवाले म काँधमा जिम्मेवारी लिनसक्छु भनेर अघि आउनुपर्छ । अघि आउने मात्रै होइन । अघि आएकाहरुलाई प्रोत्साहन दिनुपर्छ र नआएकाहरुलाई पनि अघि आउनुपर्छ भनेर घचघच्याउनुपर्छ । नेतृत्वले युवाहरुलाई प्रोत्साहन गर्न सक्नुपर्छ । त्यो भयो भने हरेक क्षेत्रमा विकास हुन्छ ।
मार्क जुकरबर्ग १९ वर्षको हुँदा फेसबुकको अवधारणा ल्याए र संसारलाई आफूमा केन्द्रित गरे । मेरी क्युरीले पनि युवा अवस्थामा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन । उहाँ नोबेल पुरस्कार पाउने पहिलो महिला पनि हो । उहाँले दुई ओटा नोबेल पुरस्कार पाउनुभयो । उहाँलाई तिमी युवा छौँ । अघि नबढ् भनेको भए भौतिक शास्त्रको त्यति ठूलो पुरस्कार प्राप्त गर्ने अवसर उहाँलाई हुने थिएन । त्यसैले हामीलाई उमेरले होइन अध्ययनले परिपक्क बनाउने हो । यवाशक्ति आजको आवश्यकता भन्दा हामीले विर्सनै नमिल्ने भनेको कुरा हामी युवा उमेरले मात्रै युवा भएर हुँदैन । हाम्रो सोँच र विचारले पनि युवा हुनुपर्छ । अर्कोकुरा जुझारुपनमा पनि युवा हुनुपर्छ ।
पढ्ने कुरामा अल्छी लाग्ने, समाजमा के–के परिवर्तन भैरहेको छ भनेर बुझ्दै नबुझ्ने अनि म युवा हुँ भन्ने कुराको कुनै अर्थ रहँदैन । शैक्षिक योग्यता र स्वअध्ययन बढाउनुपर्छ भन्ने कुरा पार्टी अध्यक्षज्युबाट पनि धेरै सिकेको छु । जबसम्म हामी ‘अपडेटेट’ हुन सक्दैनौँ तबसम्म युवा भनिरहँदा विचारले कतै पनि पुग्न सकिँदैन । त्यसकारणले पढ्नमा कहिल्यै पनि सकियो भन्नु हुँदैन । त्योसँगै कुर्सी पाउने वितिक्कै सर्वज्ञाता हुने कुरा कम्तिमा पनि हामी युवामा हुँनुहुँदैन । सिक्ने, सिकाउने भनेको निरन्तर प्रक्रिया हो । त्यो प्रक्रियामा अघि बढाउन पढाईलाई अघि बढाउनुपर्छ । एमालेका कार्यकर्ता कस्ता छन् भनेर देखाउनका लागि पनि सबै भन्दा बलियो जग भनेको शिक्षा नै हो ।
एमालेका युवा हुलसहित सडकमा जान मात्रै होइन चाहिएको बेला देशलाई आवश्यक पर्दा बौद्धिक रुपमा पनि दिशानिर्देश दिनसक्छ भन्ने उदाहरण हामी सबैले दिनसक्नुपर्छ । सामाजिक,आर्थिक रुपमान्तरण संभव छ । त्यसका लागि सबै जिम्मेवार हुन आवश्यक छ । हामी राजनीतिक कार्यकर्ता हुँदा सबैभन्दा बलियो पक्ष भनेको ‘स्कुलिङ’ हो । राजनीतिक कार्यकतालाई प्रणालीमा बस्न, अनुशासनमा बस्न सिकाइएको हुन्छ । अनुशासनलाई पालना गर्न सकिएको हुन्छ । त्योसँगै हामीले लोकप्रियताबाट पनि केही कुरा सिक्नुपर्छ । हामीले प्रविधिको प्रयोग, उपयोग र सदुपयोग गर्न पनि सक्षम हुनुपर्छ । अनि बल्ल राम्रो मान्छे सहि ठाउँमा पुग्नसक्छ । त्यसमा पनि हामी चुक्न हुँदैन ।
अहिलेको माग युवा कार्यकर्ताको माग रहेको छ । सबैलाइलाई अनुरोध गर्न चाहन्छु । तपाईँ जुन सिद्धान्तमा हुनुहुन्छ । त्यसैलाई पछ्याउनुहोस् । त्यो सिद्धान्त पछ्याउँदा के ठिक के बेठिक भन्ने कुरालाई स्वविवेक प्रयोग गरौँ । ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने युवा बनौँ हामी । कसैले बेठिक गरेको छ भने तर्कपूर्ण ढंगले राख्नसक्ने युवा बनौँ । देशलाई चाहिएको भनेको युवाशक्ति, युवा विचार र देशमै बसेर युवा काम गर्न सक्छ भन्ने उदाहरण हामीलाई चाहिएको छ । त्यसका लागि हामी जुनजुन क्षेत्रमा छौँ । त्यहि क्षेत्रबाट अघि बढौँ । नमूना बनौँ ।
हामीलाई राम्रो नेता देखे नेता बनौँ, शिक्षक देखे शिक्षक बनौँ, डाक्टर देखे डाक्टर बनौँ, पत्रकार देखे पत्रकार बनौँ लाग्छ । अलिक राम्रो गीत गाउने मान्छे देखे गीत गाउने बनौँ कि भन्ने लाग्छ । जे–देख्यो त्यहि भन्ने लाग्छ । तपाईँहरुका लागि पनि यो टिप्स काम लाग्नसक्छ । मेरो आमाले भन्नुहुन्छ । जे बने पनि हुन्छ । तर जुन क्षेत्रमा हात हाल्छौँ । त्यो क्षेत्रमाचाँहि मान्छेले औँलाले गन्नसक्ने व्यक्तिचाहिँ बन्नु है भन्नुहुन्छ । तपाईँहरु पनि यो टिप्सको फलो गरौँ ।