भारतको लोकसभा निर्वाचन परिणामः मोदी गठबन्धनलाई २९२, गान्धी गठबन्धनलाई २३४

काठमाडौं, २३ जेठ । छिमेकी मुलुक भारतमा दुई पटक प्रधानमन्त्री बन्नु भएका नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटोलाई यो पटकको लोकसभा निर्वाचनले केही कमजोर बनाई दिएको छ । विगतका दुई निर्वाचनमा एक्लै बहुमत ल्याउन सफल उहाँको पार्टी यो पटक भने गठबन्धनमा मात्रै बहुमत पुगेको छ ।

विगतका दुई निर्वाचनको तुलनामा निकै कमजोर नजिता निकाल्न सफल भारतीय जनता पार्टी र भारतीय कंग्रेस गठबन्धन बनाएर चुनावी मैदानमा थिए । भारतीय सञ्चार माध्ययमका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए गठबन्धन) ले २९२ सिट जितेको छ भने कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३४ सिट जितेको छ।

एक क्षेत्रको मतपरिणाम आउन बाँकी छ। अन्य पार्टीहरूले भने १७ सिट जितेका छन्। मतपरिणाम आउन बाँकी एक क्षेत्रमा पनि इन्डिया गठबन्धनको अग्रता छ । त्यो परिणाम आउँदा इन्डिया गठबन्धनको २३५ सिट हुन्छ । बहुमतका लागि २७२ सिट चाहिन्छ । ९६ करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदानमा भाग लिएको भारतीय चुनावमा ५४३ सिट रहेका छन् ।