राष्ट्रपति पौडेल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको हो ।

राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभयो ।

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उक्त सम्मेलनमा सहभागी भई उहाँ असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा हुनुहुन्थ्यो ।

राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत हुनुहुन्थ्यो ।