वाग्द्वारका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ, ७ असार । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार क्षेत्रका मठ मन्दिरमा विगत एक दशकअघिदेखि पूजा, आराधना गर्दै आउनुभएका सन्त–पुजारीलाई हटाउन लागेकामा स्थानीयवासीले आपत्ति जनाएका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने वाग्द्वारमा सत्यानन्द शिवाचार्यले पूजा आराधना गर्दै आउनुभएकामा निकुञ्जले निकाल्न लागेकाले विरोध गर्नुपरेको स्थानीयवासी एवं बिपी सङ्ग्रहालय समितिका अध्यक्ष पर्शुराम पोखरेलले जानकारी दिनुभयो ।

निकुञ्जभित्रको अप्ठ्यारो ठाउँमा बसेर नित्य पूजा गर्ने सन्तलाई हटाएर निकुञ्ज प्रशासनले सनातनकालदेखि चलिआएको परम्परा मास्न खोजेको भनी स्थानीयवासी सम्मिलित एक समूह सो सन्दर्भमा यथार्थ बुझ्न हालै वाग्द्वार पुगेको थियो ।

वाग्द्वार पुगी बुझ्दा नित्य पूजा गर्दै आएका शिवाचार्यलाई त्यहाँबाट निकाल्नका लागि प्रक्रिया सुरु भएको भन्ने जानकारी प्राप्त भएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

स्थानीय हेमन्तकेशर पण्डितले करिब दुई दशकअघि सोही ठाउँमा नित्य पूजा गर्ने टोड्के बाबाका नाममा परिचित पुजारीले आश्रम भन्दै निकुञ्जबीचमा होटल चलाउँदा पनि निकुञ्ज प्रशासनले उनैलाई विश्वास गरी नित्य पूजामा संलग्न शिवाचार्यलाई निकाल्न खोज्नु खेदजनक विषय भएको भनी दुःख व्यक्त गर्नुभयो ।

निकुञ्जका सूचना अधिकारी शिवलाल गैरे मुख्य निकुञ्ज क्षेत्रमा भवन र मानिस नराख्ने नीतिअनुसार सबैलाई हटाउन खोजिएको बताउनुहुन्छ । शिवाचार्यलाई हटाउन जेठ तेस्रो सातामा सहमति भई कागज गराएको उहाँले दाबी गर्नुभयो ।

टोड्के बाबाले होटल चलाएको विषयमा सूचना प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकारी डा गणेश पन्त बताउनुहुन्छ । टोड्के बाबाले निकुञ्जभित्र चलाएको होटलमा मानिस रातिसमेत बस्न थालेको भन्ने जानकारी प्राप्त भएपछि त्यहाँको संरचना हटाउन लागेको उहाँले स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *