१३ हिमचुचुरा नियाल्न सकिने मर्दी पदमार्गमा पर्यटकको चाप

मर्दी हिमाल पदमार्ग

काठमाडौँ, कार्तिक २२ । छोटो समयमै हिमालको फेदीसम्म पुगेर १३ वटा हिमचुचुराको अवलोकन गर्न सकिने विशेषताका कारण कास्कीको मर्दी हिमाल पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । जङ्गलैजङ्गलको शान्त वातावरण, मनोरम प्राकृतिक दृश्य र तुलनात्मक रूपमा कम जोखिमपूर्ण पदयात्रा गर्न पाइने भएकाले यो क्षेत्र लोकप्रिय बन्दै गएको हो ।

पोखराबाट नजिकै रहेको मर्दी हिमाल पदमार्ग छोटो बिदामा हिमाली सौन्दर्यको अनुभव लिन चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य बनेको छ । मर्दी हिमाल पदमार्ग व्यवस्थापन समितिका अनुसार पछिल्लो समय दैनिक छ सयदेखि सात सय जनासम्म पर्यटक यस क्षेत्रमा पदयात्राका लागि पुग्ने गरेका छन् ।

मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले विगतका वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन उल्लेख्य बढेको बताउनुभयो । उहाँका अनुसार असोजदेखि नै पर्यटकको चाप बढेपछि होटलमा आवास व्यवस्थापन गर्न कठिनाइ हुन थालेको छ ।

पर्यटकको सङ्ख्या होटलको क्षमताभन्दा बढी हुँदा कतिपयलाई टेन्ट तथा डाइनिङ हलमा समेत राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । मर्दीको हाइक्याम्पमा हाल १४ वटा होटल सञ्चालनमा छन् । प्रत्येक होटलमा २५ भन्दा बढी शय्या राख्न नपाइने व्यवस्था रहेकाले मुख्य पर्यटकीय याममा पर्यटकले सहजै आवास पाउन समस्या हुने गरेको छ ।

“मर्दीमा अघिल्लो वर्षभन्दा यस पटक पर्यटक धेरै आउनुभएको छ । फरेष्ट क्याम्पमाथिका सबै होटल भरिभराउ हुँदा थप पर्यटक राख्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पर्यटकले असुविधा भोग्नुपर्दा मर्दीका बारेमा नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता लाग्ने गरेको छ,” अध्यक्ष तामाङले भन्नुभयो ।

मर्दी हिमाल पदमार्ग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्दछ । एक्यापले होटल तथा कोठाको सङ्ख्या निश्चित गरेकाले पर्यटकीय याममा बढ्ने चापअनुसार आवास व्यवस्थापन गर्न कठिनाइ भएको हो । पर्यटकको आकर्षण कायम राख्दै उनीहरूलाई सहज सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने अध्यक्ष तामाङको भनाइ छ ।

माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्ग पोखराबाट नजिकै रहेकाले छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन चाहनेका लागि आकर्षक गन्तव्य बनेको छ । माछापुच्छ्रे गाउँपालिकाका घलेल, कालीमाटी र सिदिङ तथा अन्नपूर्ण गाउँपालिकाको काँडेबाट तीनदेखि चार दिनमा पदयात्रा पूरा गर्न सकिन्छ ।

जङ्गल, गुराँसे वन, अग्ला पहाड र खुला डाँडाकाँडा हुँदै अघि बढ्दा पदयात्रीले मर्दी हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम र गङ्गापूर्णलगायत हिमचुचुराको मनोरम दृश्य अवलोकन गर्न पाउँछन् । यात्राका क्रममा फेरिइरहने प्राकृतिक दृश्य, चिसो हावापानी र शान्त वातावरणले यस क्षेत्रको आकर्षण थप बढाएको छ ।

आन्तरिक पर्यटक नारायण कँडेलका अनुसार मर्दी हिमाल पदमार्गको मुख्य विशेषता छोटो समयमै हिमालको नजिक पुगेर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउनु हो । “यहाँको शान्त वातावरण र मनोरम दृश्यले पदयात्रालाई निकै रमाइलो बनाउँछ । छोटो समयमै हिमाली क्षेत्रको अनुभव लिन पाउनु यसको विशेषता हो,” उहाँले भन्नुभयो ।

समुद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको मर्दी हिमाल आधार शिविर यस पदयात्राको मुख्य आकर्षण हो । फरेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प हुँदै आधार शिविर पुग्ने पदयात्रीले यात्राभरि हिमाली दृश्यको आनन्द लिन पाउँछन् । विशेषगरी बिहान सूर्योदयका बेला हिमालमा देखिने सुनौलो दृश्य पर्यटकका लागि अविस्मरणीय बन्ने गरेको छ ।

मर्दी हिमाल भ्रमणमा रहनुभएकी पर्यटक निकिता कार्कीले यहाँको प्राकृतिक सुन्दरता र पदयात्राको अनुभवले आफूलाई आकर्षित गरेको बताउनुभयो । “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक छ । पदयात्राका क्रममा देखिने हिमाल र यहाँको वातावरणले थकान पनि बिर्साइदिन्छ,” उहाँले भन्नुभयो ।

इटलीबाट आउनुभएका पर्यटक इन्ट्राले पनि मर्दी हिमालको प्राकृतिक वातावरण र हिमाली दृश्य निकै आकर्षक रहेको बताउनुभयो । पदयात्राका क्रममा देखिने हिमाल र शान्त वातावरणले आफूलाई विशेष अनुभव दिएको उहाँको भनाइ छ ।

पर्यटकको बढ्दो आगमनसँगै पदमार्ग आसपासका बस्तीमा आर्थिक गतिविधि पनि विस्तार हुँदै गएको छ । होटल, रेस्टुरेन्ट, चियापसल तथा अन्य पर्यटनसम्बन्धी व्यवसायमा चहलपहल बढ्दा स्थानीयवासीले रोजगारी र आम्दानीका अवसर पाएका छन् । विशेषगरी लो क्याम्प, हाइक्याम्प तथा आसपासका क्षेत्रमा सञ्चालित होटल व्यवसाय पर्यटकको आगमनबाट लाभान्वित भएका छन् ।

हाइक्याम्पस्थित होटल व्यवसायी कविता अर्याल गौतमका अनुसार पछिल्लो समय मर्दी हिमाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । “पर्यटकको आगमन बढ्दा होटल व्यवसायसँगै स्थानीयको आम्दानी र रोजगारीका अवसर पनि बढेका छन् । यसले यहाँका पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो ।

प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राका लागि उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको मर्दी हिमालमा पर्यटकको आकर्षणसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढेको छ । बढ्दो पर्यटकीय चापलाई व्यवस्थित गर्न पदमार्गको स्तरोन्नति, फोहोर व्यवस्थापन, सरसफाइ, पर्यटक सूचना प्रणाली र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *