आईटीमा युवालाई अब्बल बनाउँदै लाइफ कम्प्युटर, छैटौं सिजनको विजेता घोषणाको तयारीमा

काठमाडौं, ७ असार । लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते राष्ट्रिय नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले आज एक पत्रकार सम्मेलन गर्दै जानरकारी दिनुभयो ।
आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशील यो संस्थाले छैटौं सिजनसम्म गरेको प्रतिस्पर्धामा पाँच हजार बढी सहभागी भएका छन् । करीब एक दशकभन्दा लामो समयदेखि सञ्चालित यो संस्थाले हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको अध्यक्ष पोखरेलको दाबी छ । ‘लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ । संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रित छन्,’ पोखरेलले भन्नुभयो, ‘वेबसाइट कम्पिटिसन’ पनि यसकै प्रयास हो ।’
स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी) को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालय तहदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको पनि उहाँको भनाई छ । ‘सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलेजेन्स एआईको हो । विद्यार्थीहरूले कम्तिमा कोडिङसम्बन्धी जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले वेबसाइट डिजाइनमा हामीले जोड दिँदै आएका छौं,’ उहाँले भन्नुभयो, ‘विद्यालयस्तरमा यस विषयमा अध्ययन नगरेको भएपनि विद्यार्थीको स्वाभाव जिज्ञासु हुने हुनाले एसईई पछिको तीन महिनामा प्रतियोगितामा सहभागी हुनकै लागि पनि यस विषयमा तयारी गर्छन् र जानकारी हासिल गर्छन् भन्ने मान्यता यो प्रतियोगिताले राख्छ ।’
यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगीहरूलाई जेठको अन्तिमसम्मको लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाएको उहाँको भनाइ थियो। ‘विज्ञहरुको सहायतामा ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिएको छ । उत्कृष्ट २० जनाका वेबसाइटलाई परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छान्ने प्रकृया छ,’ उहाँले भन्नुभयो, ‘मूल्यांकनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आईटी टिमको अब्जरभेसन, प्रिजेन्टेसन लगायतलाई समेटिन्छ ।’
विगतका सिजनका विजेताले सूचना प्रविधिको क्षेत्रमा अध्ययन अगाडि बढाउँदै यसै धेरै राम्रो काम गर्दै आएको उहाँले बताउनुभयो । ‘हाम्रो संस्थाको उद्देश्य आईटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाशा संस्थाले बोकेको छ । विश्वस्तरमा नेपाललाई आईटी हबको रूपमा स्थापित गराउनको लागि सामान्य भएपनि भूमिका निर्वाह गर्ने हामीले उद्देश्य राखेका छौं,’ उहाँले भन्नुभयो, ‘लाइफ कम्प्युटर यस क्षेत्रमा केही गर्न चाहनेको लागि राम्रो प्लेटफर्म बन्न चाहान्छ । राज्यको आवश्यक सहयोग भएको अवस्थामा सूचना प्रविधिकोे ज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने हाम्रो लक्ष्य छ ।’
सहभागी छनोट गर्दा जतिसक्दो धेरै सहभागी गराउने योजनामा अनुसार काम गरेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘पहिलो सिजनमा काठमाडौं उपत्यका विद्यार्थीमात्र सहभागी थिए । पहिलो सिजनामा ४२७ जना सहभागी भएका थिए, दास्रो सिजनमा ७००, तेस्रो सिजनमा १२७५, चौथो सिजनमा ८४०, पाँचौंमा ९७५ र छैटौंमा ११०२ जना प्रतिस्पर्धामा सहभागी छन्,’ उहाँले भन्नुभयो, ‘अन्य कलेजमा आईटीसम्बन्धी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था पनि गरेका छौं । अहिलेसम्म हामीले तयार गरेका विद्यार्थी व्यवसाय, आईटीसम्बन्धी जागिरमा समेत रहेर राम्रो काम गर्दै आउनुभएको छ ।’
संस्थाले एसईई दिएका विद्यार्थीमात्र नभई अध्ययन गर्ने सबै विद्यार्थीलाई उनीहरूको सीप तथा क्षमताका आधारमा काममा जोडिने वातावरण बनाउँदै आएको पनि उहाँले जानकारी दिनुभयो ।