तमोर कोरिडोर सञ्चालनसँगै राँके बजारको व्यापार ६० प्रतिशतले घट्यो
काठमाडौँ, कार्तिक २९ । तमोर कोरिडोर सडक हुँदै ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेसँगै मेची राजमार्गअन्तर्गत पाँचथर र इलामको सीमावर्ती क्षेत्रमा पर्ने राँके बजारको व्यापार प्रभावित भएको छ । विगतमा मेची राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका प्रमुख ग्राहक थिए । पछिल्लो समय धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरमार्फत ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि राँके बजारमा ग्राहकको चहलपहल घटेको स्थानीय व्यवसायीले बताएका छन् ।
स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षयता बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । विगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको उहाँले बताउनुभयो ।
अर्की व्यवसायी निशा श्रेष्ठले कोरोना महामारीपछि बजारको व्यापारले पुरानै गति लिन नसकेको बताउनुभयो । राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्टले सडक सञ्जालको विस्तारसँगै बढेको महँगी र यस वर्ष दसैँका समयमा पाथीभरा दर्शनार्थीको सङ्ख्या घट्नुले पनि बजारको व्यापार प्रभावित भएको जानकारी दिनुभयो ।
राँके बजार पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपज तथा स्थानीय सामग्री बिक्री गर्ने प्रमुख केन्द्रका रूपमा रहेको छ । यहाँ अकबरे खुर्सानी, खुर्सानीको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा विभिन्न जडीबुटी बिक्रीका लागि ल्याउने गरिन्छ ।
मेची राजमार्गमा आधारित व्यापार घट्दै गए पनि राँके बजारका स्थानीय उत्पादनको बजार भने तराई, काठमाडौँ र भारतसम्म विस्तार भएको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादन बाह्य बजारसम्म पुग्ने क्रमले यहाँको व्यापारलाई केही हदसम्म निरन्तरता दिएको छ ।
