सुनसरीमा छठको रौनक, बाँसका चोयाबाट बनेका पूजाका सामग्रीको व्यापार बढ्यो
सुनसरी, २९ कात्तिक । छठ पर्व नजिकिएसँगै सुनसरीमा बाँसका चोयाबाट बनेका पूजाका सामग्रीको व्यापार बढेको छ । आज मनाइने छठ पर्वका लागि डालो, नाङ्लो, डोको, कोनिया र ढाकीलगायत सामग्री खरिद गर्न शनिबार अबेरसम्म बजारमा सर्वसाधारणको भीड लागेको थियो ।
छठ पूजामा बाँसका सामग्री प्रयोग गर्ने परम्परा रहेकाले पर्वका बेला यस्ता सामग्रीको माग बढ्ने गरेको व्यापारी बताउँछन् । विशेषगरी फलफूल राख्न प्रयोग गरिने कोनिया र ढाकीको माग बढी हुने गरेको छ ।
रामधुनी नगरपालिका–५, झुम्काका व्यापारी धर्मुकु स्वामीले छठका अवसरमा तीन–चार दिनमै तीन लाख रुपैयाँभन्दा बढीका बाँसका सामग्री बिक्री हुने गरेको बताउनुभयो । भोजपुर, धनकुटालगायत पहाडी जिल्ला तथा भारतका विभिन्न स्थानबाट सामग्री ल्याएर बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा पर्याप्त सामग्री नपाइने भएकाले बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।
अर्का व्यापारी रितेश रौनियाका अनुसार छठ पूजामा बाँसका सामग्री अनिवार्यजस्तै मानिने भएकाले यस समयमा माग बढ्ने गरेको छ । छठ पर्व आफूहरूजस्ता व्यापारीका लागि मौसमी व्यापारको अवसरसमेत बन्ने गरेको उहाँले बताउनुभयो । तिहार सकिएलगत्तै छठको रौनक सुरु हुने र बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड लाग्ने गरेको उहाँको भनाइ छ ।
आफैँले सामग्री बनाउन नसकिने भएकाले भारतबाट खरिद गरेर ल्याई झुम्का, इनरुवा र इटहरीलगायत बजारमा बिक्री गर्दै आएको रौनियाले जानकारी दिनुभयो ।
यसैबीच, आज मनाइने छठ पर्वका लागि सुनसरीका विभिन्न नदी, खोला तथा जलाशय किनारमा पूजास्थल निर्माण, सरसफाइ र सजावटको काम सम्पन्न भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने पर्वका लागि स्थानीयवासी, धार्मिक संस्था तथा युवा समूहले सामूहिक रूपमा पूजास्थल तयार पारेका छन् ।
सप्तकोसी, बुढीखोला, सर्दुखोला, सेउतीखोला र सुनसरी खोलाका साथै झुम्का–चतरा नहर किनारमा सरसफाइ तथा सजावट गरिएको छ । पूजास्थलमा दीप, रङ्गोली र बत्तीको व्यवस्था मिलाइएको छ ।
सप्तकोसी नदी किनार, इटहरीको बुढीखोला तथा धरानका सर्दु र सेउती खोलालगायत जिल्लाका विभिन्न स्थानमा सामूहिक रूपमा छठ पूजा गर्ने गरिन्छ ।
