घरमाथिकाे पहिरो खस्दा कास्कीमा २ जनाकाे मृत्यु, एकजना गम्भीर घाइते
काठमाडौं, १२ असार । कास्कीमा घर माथिकाे पहिराे खस्दा २ जनाकाे मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् ।
मंगलबारबाट परेको अविरल वर्षाले मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनारकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा-२७ आरूपाटामा पहिराेले ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
प्रहरीका अनुसार घाइतेकाे अवस्था गम्भीर रहेको जनाएकाे छ भने घरमा पूर्ण रूपमा क्षति भएको छ।