अस्ताए ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘कान्छी मट्याङट्याङ’ गीतका सर्जक जोशी

काठमाडाैं, ११ साउन । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो ।

विसं १९९३ मा धनकुटा बजारमा जन्मनुभएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उहाँले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाउनुभएको थियो ।

उहाँ चित्रकार र अभिनेता पनि हुनुहुन्थ्यो । चलचित्र ‘हिजो आज भोलि’मा उहाँले नायिका भुवन चन्दसँग नायकको भूमिकामा अभिनय गर्नुभएको थियो । उहाँले नौवटा चलचित्रमा अभिनय गर्नुभएको थियो ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलले लोकगायक एलपी जोशीको निधन नेपाली लोकसङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो ।

विसं २०१३ मा उहाँको पहिलो गीत ‘नेपालको माया..’ रेडियो नेपालमा रेकर्ड भएको थियो ।