चितवनमा डेङ्गुको सङ्क्रमण : ६४ जनामा देखियाे

चितवन, १२ साउन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उहाँले बताउनुभयो ।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

डेङ्गु ज्वरो नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेङ्गु पुष्टि भएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिनुभयो ।