बागलुङका किसान भैँसी बेचेर च्याउ खेती तर्फ आकर्षित

बागलुङ, ७ भदौ । बागलुङ नगरपालिका–३ गहतेकी इशा क्षत्रीले व्यावसायिक तरकारी खेती थालेको चार वर्ष भयो । तीन रोपनी भन्दा बढी जग्गामा उहाँले चारवटा प्लास्टिक टनेल लगाउनुभएको छ ।

दुईवटा भैँसी पाल्दै आउनुभएका क्षेत्रीले तरकारीमा नाफा देखेपछि एउटा भैँसी बेचेर तरकारी खेतीमा लगानी गर्नुभयो । उहाँ अहिले तरकारी खेतीबाट आत्मनिर्भर बन्नुभएको छ । उहाँका तीन टनेलमा घिरौला, लौका, टमाटर, धनिया र तिते करेला छन् ।

तरकारी खेतीबाट हुने आम्दानीले एउटा छोरी र श्रीमानसहितको जिविका चलाएर केही रकम बचत गर्दै आउनुभएको छ । उहाँले च्याउ खेती पनि गर्नुभएको छ । च्याउ खेतीका लागि क्षत्रीले छुट्टै टनेलको व्यवस्था गर्नुभएको छ । अन्य तरकारीबाट हुने आम्दानीको तुलनामा च्याउ खेतीबाट दोब्बर आम्दानी हुने क्षत्रीले सुनाउनुभयो । स्मृति कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर तरकारी खेती गर्दै आउनुभएका क्षत्रीले च्याउ खेतीमा जोड दिनुभएको हो ।

उहाँले च्याउखेती थप विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । “परिवारको खर्च चलाउन चार वर्ष अघिदेखि साँढे तीन रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै डोकोमा बोकेर बागलुङ बजार लगेर बिक्री गर्दै आएको थिएँ”, क्षत्रीले भन्नुभयो, “छ महिना अघि बागलुङ नगरपालिकाले प्रदान गरेको तीन दिने च्याउखेती तालिमले मलाई बल्ल राहत दियो ।” दुई सय किलो च्याउ बिक्री गरिसकेको र अझै दुई सय ५० केजीदेखि तीन सय केजी च्याउ उत्पादन हुने आशामा रहेको उहाँले बताउनुभयो । च्याउ उत्पादन हुने बेलामा मासिक एक लाखसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *