होर्मुज जलडमरूमध्यमा अमेरिकाद्वारा ‘रक्षात्मक’ आक्रमण
काठमाडौं, १८ कात्तिक । अमेरिकाले होर्मुज जलडमरूमध्यमा इरानी सैन्य लक्ष्यहरूविरुद्ध सीमित ‘रक्षात्मक’ आक्रमण गरेको छ। अमेरिकी सम्पत्तिलाई लक्षित गरी सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्रको खतरा उत्पन्न भएपछि अमेरिकी सेनाले यस्तो कारबाही गरेको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग अप्रत्यक्ष रूपमा भइरहेको शान्ति वार्तामा प्रगति भएको दाबी गर्नुभएको छ। तर इरानले भने कुनै पनि सम्झौतामा पुग्नुअघि अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र इरानका माग सम्बोधन गर्नुपर्ने अडान राखेको छ।
यसैगरी, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदमा ठोक्किएपछि दुईवटा कच्चा तेल बोकेका ट्याङ्करमा आगलागी भएको जनाएको छ।
खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावका बीच कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको जहाजमाथि शुक्रबार भएको आक्रमणको विभिन्न खाडी राष्ट्रहरूले निन्दा गरेका छन्।
होर्मुज जलडमरूमध्य विश्वकै प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गमध्ये एक हो। यस क्षेत्रमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति तथा विश्व बजारमा थप असर पर्ने चिन्ता बढाएको छ।
