रामेछाप पहिरोः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, दुइ अझै बेपत्ता
रामेछाप, १२ भदौः रामेछापकाे दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
भदौ ९ गते बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मङ्गलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।
उहाँले मङ्गलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले स्वीकार गरेपछि सनाखत गरी परिवारको जिम्मा लगाइएको बताउनुभयो ।
गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन निकालिएको थियो । त्यसपछि एकको शव र हिजो एकजनाको पैतालाको भाग फेला परेपछि मृत्यु हुनेको सङ्ख्या आठ पुगेको हो ।
उक्त पहिरोमा परी हराइरहेका सोहि वडाका ५५ वर्षीय काले पहरी र ५० वर्षीय झ्याइपुरी पहरी अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सो वडाकी ३० वर्षीया चण्डिका श्रेष्ठ, निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ, सोही वडाका ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीकाे शव आइतबार नै फेला पारी परीक्षणपश्चात् परिवारलाई जिम्मा लगाइएको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।