बर्दिबासमा ३१ हजारले लिए सर्पदंशको उपचार

महोत्तरी, २ असोज । महोत्तरीको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् ।

बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन् ।

केन्द्रले विसं २०७१ साउन ३१ गतेदेखि उपचार सेवा दिँदै आएको हो । चालु आर्थिक वर्षको हालसम्म एक सय एक जनाले सेवा लिएका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउनमा ५० र भदौमा ५१ जनाले उपचार लिएका छन् । केन्द्रमा स्थापना भएदेखि उपचारमा नेपाली सेनाका छ जना दक्ष जनशक्ति खट्दै आएको छन् ।

सबैभन्दा बढी सर्पदंशका बिरामी आव २०७६/७७ र आव २०७८/७९ मा देखिएका छन् । ती वर्षमा क्रमशः तीन हजार नौ सय ४७ र तीन हजार नौ सय २२ जनाले उपचार लिएका केन्द्रको अभिलेखले जनाएको छ । गत आवमा आठ सय ८४ जनाले उपचार लिएका नेपाली सेनाका उपचारटोलीका प्रमुख मानसिंह कुँवरले जानकारी दिनुभयो ।

लामो खडेरीपछि एक्कासी ठूलो पानी परेका बेला सर्पदंशका घटना बढ्ने भन्दै आवश्यक सर्तकता अपनाई सचेत हुन कुँवरले सर्वसाधरणलाई आग्रह गर्नुभयो । सर्पदंशका घटना भदौमा बढी हुने गरेकाले यो समयमा बढी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।