बोडे होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई शुक्रबार दिउँसो २ बजेसम्म खाली गर्न प्रहरीको निर्देशन
भक्तपुर, १० मङ्सिर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई सरकारले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । बिहीबार साँझ सेन्टरमा पुगेर प्रहरीले माइकिङमार्फत खाली गर्न सूचना दिएको विस्थापितले बताएका छन् ।
सेन्टरमा बस्दै आएकी गिर्वाणी थापाका अनुसार प्रहरीले शुक्रबार दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न भनेको छ । बोडेको होल्डिङ सेन्टरमा थापाथलीबाट विस्थापित १९ परिवारका ५९ जना बस्दै आएका छन्, जसमध्ये १७ जना बालबालिका छन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार होल्डिङ सेन्टर खाली गर्नसम्बन्धी सूचना जारी गरेको थियो । भूमि समस्या समाधान समितिले मंसिर ९ गते पठाएको पत्रका आधारमा प्रशासनले मंसिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको हो ।
सूचनाप्रति असन्तुष्टि जनाउँदै बोडे, खरिपाटी र इचंगुनारायणका विस्थापित सुकुम्बासीहरूले बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले सूचना फिर्ता लिन तथा वैकल्पिक आवास र उचित व्यवस्थापन सुनिश्चित नगरी कुनै पनि परिवारलाई जबरजस्ती नहटाउन माग गरेका छन् ।
विस्थापितले सरकारले पूर्वप्रतिबद्धता पूरा गर्नुको सट्टा पुनः सेन्टर खाली गर्न निर्देशन दिएको भन्दै आफूहरू थप अन्याय र निष्कासनको जोखिममा परेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
