गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
कास्की, ७ असोज, । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।
जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप गरेकाे हाे ।
विभिन्न ५ वटा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट हिजाे आइतबार पक्राउ परेकाे थियाे । जोशीलाई आइतबारै पोखरा ल्याइएर जिल्ला अदालत कास्कीमा सोमबार उपस्थित गराइएको हो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।