मिथिलाका डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटीबाट आम्दानी गर्दै

महोत्तरी, ६ कात्तिक । मधेशमा चन्द्रमासले कात्तिक टेकेपछि यहाँका अति विपन्न डोम र बिन जाति समुदायको बस्तीमा चहलपहल बढ्छ ।

हरेक वर्ष कात्तिक सुरु भएपछि यी समुदायका बस्तीमा बाँसका चोयाबाट निफननाफन र राखनधरनका सामान बनाउने व्यस्तता बढेको हाे । उनीहरू चङेरा, ढकी, छिटी, नाङ्लो, चाल्नो, हातेपङ्खा र कोनियाजस्ता सामग्री दीपावली र लगत्तैको छठमा बिक्री हुने आशमा महोत्तरीसहित मधेशका मिथिलाक्षेत्रका मानिस सामान बनाउन व्यस्त भएका हुन् ।

कात्तिक कृष्णपक्षमा यस भेगका यी दुवैसमुदाय बाँससँगै खेल्छन् । अब चाडबाड नजिकिएपछि आफ्नो काममा भ्याइनभ्याइ परेको बाँसका चोयाबाट राखनधरनका सामान बनाउनेहरु बताउँछन् । “कात्तिक अन्हरिया (कृष्णपक्ष) को छ दिन त भइ हाल्यो, अब त दीपावली कति छ र ? अनि त्यसलगत्तै छठ ! यी पर्वमा हाम्रो सीप बिक्ने आशमा अहिले बाँससँग खेल्दैछौ” भङ्गगाहा–४ रामनगरका केशो मुखिया बिन भन्नुहुन्छ, “वर्षभरिको नगद खर्चको भर यिनै पर्वमा टिकेको हुन्छ ।” बिनजस्तै महोत्तरीका डोमहरुका झुपर बस्तीमा पनि अहिले बाँसका कप्टेरा÷ चोया काढ्ने र मागअनुसारका सामान बनाउने व्यस्तता बढेको छ । बाँसका चोयाबाट बन्ने यी सामान दीपावलीमा पनि बिक्री त हुन्छन् , तर मुख्यचाहिँ छठकै माग हुने गौशाला–१२ पडरियाकी अञ्जली मरिक बताउनुहुन्छ ।

सामान्यतया छठका बर्तालुले आवश्यकताका सामान बनाइदिन पहिले नै भन्ने गरेका हुन्छन् । तर ग्राहकको पूर्वमागबाहेक पनि चोयाबाट बन्ने यी सामान बिक्री हुने आशमा अहिले डोम र बिन समुदाय बाँस खोज्ने र चोया काढ्ने काममा परिवार नै लागेका छन् ।

यसबेला बिक्ने आफ्नो सीपले ससाना नानीहरुको रहर पूरा गर्ने, नयाँ लुगा लइाइदिने, मिठोमसिनो खाने र वर्षभरिको नुनतेलको जोहो गर्ने कात्तिकका पहिला र दोस्रो साता हुनेगरेका बर्दिबास–१ कै भोगेन्द्र मरिक बताउनुहुन्छ ।

बिन र डोम बाँसका चोयाबाट नाङ्ला, चाल्ना, छिटी, हातेपङ्खासहितका सामान बनाउन सिपालु मानिन्छन् । दीपावली र छठमा मात्र आपूmहरुको सीप बिक्ने गरेको यी दुवैजाति समुदायको समान पीडा छ । पुख्र्यौली पेसा र सीप पर्वबाहेक अन्य बेला बिक्न छाडेपछि बिन र डोम समुदायका नयाँ पुस्ता अन्य पेसा र सीपका क्षेत्रमा जान थालेका छन् ।

जनजाति समूहका बिन र दलित समुदायका डोम दुवैको शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच कम छ । खासमा बिनभन्दा डोमहरुको जीवनचर्या अझ बढी अभाव र कष्टमा देखिन्छ । गरिबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्निसंस्कारका लागि आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका समान बेचेर प्राप्त हुने आम्दानी र सुँगुँर पाल्ने पुख्र्यौली पेसाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *