साफ च्याम्पियनसिपको फाइनल खेलकाे टिकट अनलाइन बुकिङ नपाइने, बुधबार आफै उपस्थित भएर लिनुपर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि दर्शकले टिकट अनलाइन बुकिङ नपाइने भएकाे छ ।

अखिल नेपाल फुटबल संघ-एन्फाले बुधबार बिहान ८ बजे जावलाखेल मैदानमा टिकट बिक्री सुरु हुने जनाएको छ । दर्शकले खेल हेर्नका लागि बिहान आफै उपस्थित भएर टिकट लिनुपर्ने भएको छ ।

टिकट एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको लिन सक्नेछन् ।टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट प्रालिलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढि टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो ।

एन्फाले एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट र जावलाखेल मैदानबाट टिकट बिक्री गरिनेसमेत जानकारी दिएको छ ।