रवि लामिछानेकाे बयान आजपनि, बयान सकेर फेरी पोखरा पठाइने
काठमाडाैं, २९ कात्तिक । सहकारीको बचत अपचलन गरेकाे आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा आज बिहीबार तेस्रो दिन बयान सुरू भएको हाे । पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरू गरिएको थियाे ।
हिजो १० घण्टा बयान लिइएको थियो । रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जीतसिंह राठौरले लामिछानेको बयान आज सकिने र सकिएपछि पोखरा पठाइने बताए ।
मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।