राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडाैं, २९ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग आज भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताकाे क्रममा राष्ट्रपति पौडेलले सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको बृहत् विकास र आर्थिक रूपान्तरणको प्रशंसा गर्नुभयो ।
उहाँले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेको र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताउनुभयो ।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेभले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक गरेर काम गर्ने बताउनुभयो । राष्ट्रपति अलियेफले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न आफ्नो देश सकारात्मक रहेको पनि बताउनुभयो ।
सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुवै देशले संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय मञ्चमा दीगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयमा सहकार्य गरिरहेका छन् । राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो ।
राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखहरूसँग गर्नुभएको सामूहिक भेटघाट कार्यक्रममा समेत उहाँ सहभागी हुनुभएको थियो ।
यही कात्तिक २६ गतेदेखि सुरु भएको सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ ।