प्रधानमन्त्री ओलीको चीन भ्रमण : आज उच्चस्तरीय भेटवार्ता
काठमाडौं, १८ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने भ्रमणका लागि बेइजिङ पुग्नुभएकाे छ । उहाँले भ्रमणका क्रममा आज उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले आज राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनकांग्रेसका अध्यक्षसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले सुरुमा समकक्षी ली छ्याङसँग भेटवार्ता गर्नुहुनेछ । त्यसपछि चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ । भेटवार्तापछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । ‘ग्रेट हल अफ पिपल’मा हुने भेटवार्तापछि द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ ।
चिनियाँ नेतृत्वले चिनियाँ जनमुक्ति सेनाको ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नुहुनेछ ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जानुभएकाे हाे ।
भ्रमणका क्रममा बुधबार प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिनुहुनेछ र नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुनेछ ।
सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मंसिर २० गते स्वदेश फर्कनुहुनेछ ।