लामिछानेलाई बुद्ध एयरको जहाज मार्फत सिमरा पुर्‍याइयो

काठमाडौं, २४ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुद्ध एयरको जहाजबाट सिमरा पुर्‍याइएको छ । उनलाई पोखराबाट काठमाडौं ल्याएर काठमाडाैंबाट सिमरा लगिएको हो ।

सिमराबाट उनलाई गाडीमार्फत वीरगञ्ज पुर्‍याएको छ । रविसहित १४ जनाविरुद्ध सानोपाइला सहकारीको रकम अपचलनको बारेमा १९ मंसिरमा पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ । यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् ।

लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।