पूर्वाधार क्षेत्रमा बढ्दो गुनासो : उजुरीका चाङैचाङ

काठमाडौँ, १७ पुस । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा पूर्वाधार निर्माणको क्रममा देखिएका विभिन्न गुनासासहित उजुरीको चाङ लागेको छ ।

समितिद्वारा आज आयोजित छलफल कार्यक्रममा भौतिक पूर्वाधार निर्माणका क्रममा देखिएका समस्या तथा ऊर्जा क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा सरोकार भएका संस्था तथा व्यक्तिले गुनासोसहित उजुरी दर्ता हुनेक्रम बढेको भनी चिन्ता र चासो व्यक्त गरिएको हाे ।

समितिमा परेका गुनासा सम्बोधन गर्ने उद्देश्यले दुई वटा उप–समिति गठन गरेको जानकारी दिँदै समितिका सभापति दीपकबहादुर सिंहले नीतिगत अस्पष्टताका सन्दर्भमा तालुक मन्त्रालयसँग समन्वय गरी आवश्यक रायसुझाव दिन भनी उपसमिति गठन गरेको बताउनुभयो ।

उहाँका अनुसार ऊर्जा क्षेत्रमा देखिएका समस्या र परेका उजुरी सम्बोधनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा रहिसक्नुभएका पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसक्नुभएका पूर्वमन्त्री प्रकाश ज्वालाको संयोजकत्वमा पूर्वाधार क्षेत्रमा देखिएका समस्या र उजुरी सम्बोधनका लागि अर्काे उपसमिति गठन भएको छ ।

समितिका सभापति सिंहले सरोकार भएका व्यक्ति तथा निकायसँग छलफल गरी पूर्वाधार क्षेत्रमा देखिएका विकृति, विसङ्गति र गुनासो सम्बोधनका पक्षमा सहयोग र सहजीकरण गर्न उपसमिति क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो ।

“जनताको जग्गा पूर्वाधार निर्माणको नाममा लिनुहुँदैन, लिनुपर्ने भए जनतालाई उचित क्षतिपूर्ति र मुआब्जा तिर्नुपर्छ भनेर उप–समिति गठन गरिएको हो”, उहाँले भन्नुभयो, “प्रसारण लाइन तथा ऊर्जा क्षेत्रमा पनि समस्या छन्, देखिएका समस्या समाधानका पक्षमा उपसमितिले काम गर्ने छ ।”

यसैगरी उजुरीमाथि भएको छलफलमा समितिका सदस्यहरूले विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएका समस्यालाई समयमै सम्बोधन गरी सकारात्मक परिणाम दिनेतर्फ पूर्वाधार विकास समितिको ध्यान जानुपर्नेमा जोड दिनुभयो । छलफलमा भाग लिँदै सांसद ठाकुर गैरेले राष्ट्रिय गौरवका आयोजनाको काम समय नै सम्पन्न हुन नसक्नु चिन्ताको विषय भएको उल्लेख गर्दै त्यसतर्फ समितिले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद शङ्कर भण्डारीले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरी विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएका समस्याको पहिचान तथा समाधानका विषयमा स्पष्ट हुन समितिको तर्फबाट अनुगमन हुनुपर्ने माग गर्नुभयो ।

सांसद प्रकाश ज्वालाले समितिमा परका गुनासोका सन्दर्भमा सम्बन्धित सरकारी निकायसँग सम्पर्क, समन्वयसहित सहकार्य गरी अघि बढ्नुपर्ने र मुलुकको विकास निर्माणसँग सम्बन्धित गतिविधिलाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।