कात्तिक १ देखि चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
उपत्यकाको फोहर व्यवस्थापन
काठमाडौँ, असोज ३० । दसैँका कारण आगामी कात्तिक १ देखि ४ गतेसम्म काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने भएको छ ।
काठमाडौँ महानगरपालिकाका अनुसार उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा उक्त अवधिमा फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ । दसैँका मुख्य दिनमा सफाइ कर्मचारीसमेत पर्व मनाउन जाने भएकाले फोहर सङ्कलन तथा व्यवस्थापनमा असर पर्ने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर छुट्टाछुट्टै राख्न आग्रह गर्नुभएको छ ।
उहाँले फोहरलाई जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डभित्र सुरक्षित रूपमा व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ ।
महानगरपालिकाले कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहर व्यवस्थापन कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
