आलोचित भएपछि संयमता गुमाएर मेयर बालेनले लेखेका सात स्ट्याटसको नालीबेली

काठमाडौं, माघ ३ । र्यापरको पृष्ठभूमिबाट माथि उठेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू आलोचित भएपछि संयमता गुमाउँने गरेका सात सन्दर्भ यहाँ उल्लेख गरेका छौँ । २२ लाख बढी फलोअर्स रहेको आफ्नो फेसबुक पेजमा समाज भड्काउने, युवालाई दिग्रभ्रमित पार्ने र राजनीतिक दलदेखि व्यक्ति तोकेरै आलोचना गर्ने मात्रै स्ट्याटस लेखेर आनन्द मान्ने अनि आफूलाई चर्चामा ल्याइरहने मेयर साहको सबै भन्दा कमजोर पक्ष भनेको अरुले उनलाई अलिकति पनि आलोचना गर्ने छुट हुँदैन । उनको अल्लारे गतिविधिको कसैले थोरै मात्रै आलोचना गर्यो भने पनि उनलाई खपिनसक्नु हुन्छ र धैर्यता नै गुमाएर उनी आलोचनामा उत्रिहाल्छन् ।

साह मेयरमा निर्वाचित भएको तीन वर्ष पुग्न लाग्यो तर, अहिलेसम्म उनले देखाउने र दीर्घकालिन रुपमा सकारात्मक प्रभाव छाड्ने कुनै पनि काम गरेका छैनन् । अनावश्यक रुपमा डोजर आतंक मच्याएर धेरैको उठिबास लगाउने र नेताहरुको नाम नै तोकेर आलोचना गर्ने बाहेक उनले यो तीन वर्षे कार्यकालमा देखाउने र चर्चा गर्ने कुनै काम छैनन् ।

डोजर चलाउने बेलामा केही भाडाका युट्युवेहरु बोकेर पुग्ने र उनका अंगरक्षक बनेका नगर प्रहरी प्रमुख राजु पाण्डेले धाकधम्की लगाएका भिडियो खिच्न लगाएर भाइरल बनाउने उद्योग मेयर साहको नेतृत्वमा राम्रोसँग फस्टाएको छ । तर, ती भत्काएका ठाउँमा महानगरपालिकाले सदुपयोग गरेर के–के गर्यो भनेर परिणाम खोज्ने हो भने केही पनि भेटिदैँन ।

महानगरको काममा भन्दा पनि मोजमस्तीमा बढी सक्रिय मेयर साह कहिले सरकारी गाडीको दुरुपयोग गर्दै पवमा मस्ती गरिरहेका भेटिन्छन् भने कहिले महानगरका सारा काम छाडेर गुमनाम बनिदिन्छन् । यो उनको अल्लारे पाराको एउटा सफल उदाहरण पनि हो ।

मेयर साहले दिने गरेका असंयम अभिव्यक्तिको निकै ठूलो फेहरिस्त नै छ । राजनीतिक पृष्ठभूमि शून्य मात्रै होइन राजनीतिक चेत पनि शून्य भएका साहमा आफूले गरेका हरेक काममा सबैले प्रशंसा गरुन भन्ने विचित्र खालको जिजीविषा छ । कसैका पनि आलोचना र सुझावलाई ग्रहण गर्न नसक्ने साहमा नियम–कानुनलाई कत्लेआम गरेर ‘स्टन्ट’ देखाउने भोक पनि विचित्रको छ । अझ गज्जब त के छ भने आफूले गरेका हरेक ‘स्टन्ट’ हरुमा असफल भएपछि र आलोचना हुन थालेपछि उच्च पदस्थ व्यक्ति र राजनीतिक दलका नेताहरुलाई तुच्छ आलोचना गरेर ‘सेन्टिमेण्ट’ लिने उनको शैली विगतका धेरै घटनाले देखाएका छन् ।

आफू आलोचित बनेपछि राष्ट्रपति, पूर्वप्रधानमन्त्री र नेताहरुलाई तुच्छ गाली गरेर ‘सेन्टिमेण्ट’ लिन खोज्ने साहले यो पटक पनि राष्ट्रपतिबाट जारी भएको भूमिसम्वन्धी अध्यादेशसँग जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाउने हर्कत गरेका छन् । अध्यादेशको अन्र्तरवस्तुबारे गहिरो अध्ययन नै नगरी साहले सामाजिक सञ्जालको साहारामा ‘स्टन्ट’ गरेका छन् । अध्यादेश काठमाडौंको टुँडिखेल र खुलामञ्च पनि वितरण गर्ने गरी आएको जस्तो भ्रम फैलाएर उनले समाजलाई भ्रमित बनाउने हर्कत गरेका छन् ।

कुनैबेला ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भनेर र्याप गाउँने साह मेयर भएपछि एकपछि अर्को गर्दै गरिब लखेट्ने अभियानमा कहिले सुकुम्बासी बस्तीमा डोजर चलाएर त कहिले फुटपाथ व्यवसायीमाथि बुट बजारेर र लछारपछार गरेर अनि कहिलेचाँहि कवाडी व्यवसायीमाथि निर्मम प्रहार गरेर लाग्ने गरेका छन् । व्यवहारमा गरिब विरोधी हर्कत गरिरहेका मेयर साहले सामाजिक सञ्जालमा गरेको ‘स्टन्ट’ भने नमिल्दो खालको देखिएको छ । ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’ भन्दै उनले बधाई छ सरकार भनेका छन् । उनले सरकारमा रहेका कार्यकर्ताहरु भनी सम्वोधन गरेका छन् । उनको यो हर्कतको धेरैले आलोचना पनि गरेका छन् ।

मेयर साहका अराजक र तुच्छ गतिविधिबारे अहिले सबै भन्दा बढी आलोचना नेकपा (एमाले)का कार्यकर्ताले गर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले समेत बेलाबखतर मेयर साहका अल्लारे गतिविधिबारे खुलेरै आलोचना गर्ने गरेकाले पनि मेयर साह पनि सबै भन्दा बढी प्रहार एमाले अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीप्रति गर्ने गरेका छन् । सबैसँग छलफल गरेर र दीर्घकालिन प्रभाव हेरेर भन्दा पनि लहडको भरमा सस्तो लोकप्रियताका नाममा योजनाहरु अघि बढाउने र ती असफल भएपछि राष्ट्रपति, पूर्वप्रधानमन्त्री र नेताहरुलाई तुच्छ गाली गरेर ‘सेन्टिमेण्ट’ लिने मेयर साहको पुरानै शैली हो । अहिले साहले सामाजिक सञ्जालमा गरेको टिप्पणी पनि त्यसैको एक श्रृंखला हो ।

उनी कतिसम्म अराजक र नैतिकहीन ढंगले सामाजिक सञ्जालमा प्रस्तुत हुन्छन् भन्ने उदाहरण उनका केही स्ट्याटसले पनि प्रष्ट पार्छनन् । ‘पीडित बालिकाहरुले प्रम( खडग प्रसाद ओली ) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको सुभकामना दिन सकिन ,सो सुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’ काठमाडौंको मेयरले कुनै समय लेखेको यो स्ट्याटस एउटा जड्याँले जाँड खाएका बेला बोल्ने स्तरहीन अभिव्यक्ति भन्दा पनि गएगुज्रिएको छ ।ं उनका जति पनि स्ट्याटस आउँछन् । ती अधिकांश यस्तै स्तरहीन ढंगले प्रस्तुत भएर आएका हुन्छन् । साहले उनको ती वर्षे कार्यकालमा सामाजिक सञ्जालमा राखेका केही टिप्पणीहरु कुन सन्र्दभका थिए भनेर केही यहाँ प्रस्तुत गरेका छौँ ।

सन्दर्भ १

२०७९ साल जेठ १३ गते मेयर पदमा निर्वाचित भएकै दिन काठमाडौं महानगरपालिकाका मेयर बलेन साह काठमाडौंसहित उपत्यकाका १७ पालिकाको फोहोर विसर्जन हुँदै आएको स्थल सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट पुगे । निर्वाचन अघिदेखि नै फोहोर विसर्जनमा समस्या हुँदै आएको अवस्थामा निर्वाचित भएकै दिन धन्यवाद ¥यालीमा सहभागी भएलगत्तै मेयर साह सिसडोल र बन्चरेडाँडा पुग्दा उनको त्यो अनुगमनलाई धेरैले सकारात्मक रुपमा लिएका थिए ।

फोहोर विसर्जन स्थलसम्म पुग्नका लागि स्थानीयबासीले गाडीहरुलाई अवरोध गर्न राखेका ढुंगा र तगाराहरुको अवरोध छिचोल्दै मेयर साह ल्यान्डफिल साइट पुग्दा स्थानीयबासी पनि मख्ख परेका थिए । उनीहरुले मेयर साहसँग सौहार्दतापूर्वक आफ्ना मागहरु सुनाउँदै माग पूरा भए सहयोग गर्ने आश्वासन पनि दिए । मेयर साहले पनि स्थानीयका बिचमा उभिँएर सिसडोलबासीमाथि काठमाडौंले अपराध गरिरहेको अभिव्यक्ति दिए ।

उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता उनीहरुको पुरानै माग हो । मेयर साहसँग पनि उनीहरुले ती माग नै सुनाए । अझ गज्जब त के भने सिसडोलबाटै मेयर साहले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा समेत गर्न भ्याए । त्यस लगत्तैको सपथग्रहणसम्म उनको त्यो बाचा पनि पूरा भयो । तर, उनको त्यो बाचा धेरै दिन टिक्न सकेन । त्यो बाचा गरेको ३ वर्ष पूरा हुन लागको छ । तर, फोहोर व्यवस्थापनमा चाँहि उनले सामान्य भन्दा सामान्य पनि समाधानको पहल गर्न सकेका छैनन् ।

बरु इतिहाँसमै सबै भन्दा बढी समय अर्थात झण्डै तीन महिना काठमाडौं र उपत्यकाको फोहोर नउठ्ने वातावरण उनकै कार्यकालमा भयो । उनले कहिले कुहिने र नकुहिने फोहोरलाई छुट्याएर राख्ने उर्दी जारी गरे । फोहोर व्यवस्थापनमा प्रहरी परिचालन नगर्ने आश्वासन दिएका साहले त्यो आश्वासनलाई समेत तल्याएर प्रहरी परिचतलन गर्दै आतंक मच्याउने काम गरे । यसरी एकपछि अर्को गर्दै फोहोर व्यवस्थापनमा असफल भएपछि उनले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई सम्वोधन गर्दै तुच्छ आलोचना गर्दै सेन्टिमेण्ट लिन स्ट्याटस लेखे ।

भिडियोसहित पोष्ट गरेको स्ट्याटस यस्तो थियो । ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’ उनले लेखेको यो स्ट्याटस निकै चर्चित भयो । त्यो स्ट्याटसमा त्यतिबेला नै ८६ हजार बढीले लाइक गरेका थिए भने १० हजार बढीको कमेण्ट आएको थियो । ती अधिकांश कमेण्टमा प्रचण्डको आलोचना गरिएको थियो । फोहोरमा व्यवस्थापनमा असफल भएपछि प्रचण्डको आलोचना गरेर उनले सेन्टिमेण्ट लिए । फोहोर व्यवस्थापनको पाटो अहिले पनि जस्ताको त्यस्तै छ । त्यसमा केही सुधारको संकेत देखिएको छैन । बरु काठमाडौंको फोहोर व्यवस्थापन नहुँदा डेंङ्गुलगायतका प्रकोप ७७ वटै जिल्लामा फैलिने गरेको छ । साह त्यस्ता विषयमा वेखवर जस्तै छन् ।

त्यसैबेला उनले आत्महत्या गरेका र्यापर यमबुद्धको शालिक बनाउने योजना अघि सारेपछि त्यो विषयमा पनि निकै ठूलो आलोचना खेप्नु परेको थियो । पछि उनी त्यो निर्णयबाट पछि हट्न बाध्य भए ।

सन्दर्भ २

फोहोर व्यवस्थापनमा एकपछि अर्को गर्दै असफल भएका साहले त्यस लगत्तै राजधानीका केही संरचनाहरुमा डोजर चलाएर चर्चा बटुल्ने रणनीति ल्याए । सुरुमा अल्फाबीटा लगाएका स्थानमा डोजर चलाउँदै मेयर साहले निकै ठूलो प्रशंसा बटुले । नियम–कानुको धज्जी उडाउँदै डोजर आतंक मच्याउने साहको शैलीको कसैले पनि आलोचना गर्ने आँट गरेनन् । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले साहको शैलीको आलोचना गर्दा निकै ठूलो आलोचना खेप्नु पर्यो ।
प्रशंसाबाट हौसिएका साहमा भने मात चढ्दै गयो र जताजतै डोजर आतंक मच्याउँदै हिड्न थाले ।

त्यहि जोसमा बालेनले चलाएको डोजर जयनेपाल हल परिसरमा टुकुचा खोज्ने भन्दै उधिन्न पुग्यो । महानगरपालिकाको टोलीसहित त्यहाँ पुगेर टुकुचा उधिन्दा केही दिन साहको निकै प्रशंसा भयो । तर, नियम–कानुनको सामान्य भन्दा सामान्य पनि पालना नगरी पुस्तौँदेखि बस्दै आएका स्थानीयलाई उठिवास लगाउने गरी डोजर आतंक मच्याएपछि विस्तारै साहको आलोचना सुरुभयो । सुरुमा जयनेपाल हलदेखि कमलादीसम्मका सबै संरचना भत्काउने उर्दी जारी गरेका मेयर साह त्यहाँबाट पनि पछि हट्न बाध्य भए । यसरी टुकुचामा असफल भएपछि साहले फेरि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लक्षित गर्दै तुच्छ आलोचना गरेर ‘सेन्टिमेण्ट’ लिने प्रयास गरे ।

टुकुचामा असफल भएपछि उनले राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री नेपालको नाम नै किटान गर्दै तीनकुनेको तस्बिरसहित स्ट्याटस लेखे । स्ट्याटु यस्तो थियो– ‘आदरर्णीय माधव नेपालज्यू तथा सम्माननीय रास्ट्रपतिज्यू, प्रधानमन्त्री बन्नुभयो रास्ट्रपति बन्नुभयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर वारम्वाार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

उनले यसरी भण्डारी र नेपालको नाम नै किटान गरेर तुच्छ आलोचनसहित स्ट्याटस लेखेपनि मेयर साहले यो तीन वर्ष अवधि व्यतीत हुँदा पनि तीनकुनेका बारेमा के गर्ने भन्ने सामान्य भन्दा सामान्य योजना पनि अघि बढाउन सकेका छैनन् । बरु केही हप्ता अघि त्यहि तीनकुनेमा भएको महोत्सवमा पुगेर त्यहाँका स्थानीयलाई सरकारप्रति वितृष्णा फैलाउने रणनीतिसहित केही विवादास्पद अभिव्यक्ति दिएर फर्किए । त्यसपछि फेरि उनले कुनै योजना अघि सारेका छैनन् ।

सन्दर्भ ३

राष्ट्रिय भूमि आयोगसँग कानुनअनुसार सहकार्य गर्ने सहमतिपत्रमा मेयर साह आफैँले हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सुकुम्बासी वस्ती भत्काउन डोजर लिएर काठमाडौं महानगरपालिका थापाथली पुगेपछि सुकुम्बासी वस्तीमा बसोवास गर्दै आएकाहरुले प्रतिकार गरे । त्यसपछि डोजर त्यत्तिकै फर्किन बाध्य भयो । सम्झौतापत्रमा महानगरपालिकाले वडा–वडामा फाराम भराउने, त्यसको रेकर्ड राख्ने र प्रमाणीकरण गर्ने काम प्रष्ट उल्लेख गरिएको भए पनि ती सबै सम्झौतालाई लत्याउँदै साहले डोजर आतंक मच्याएपछि सर्वत्र आलोचना भयो ।

त्यतिबेला नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खुलेर सुकुम्बासी वस्तीमाथि चलाएको डोजर आतंकको आलोचना गर्दै महानगरपालिकाले तमासा देखाएको भनी चर्को आलोचना गर्नुभएको थियो । राष्ट्रिय भूमि आयोगले समेत उक्त कार्यको आलोचना गरेपछि साह थप आलोचित बने । यसरी सुकुम्बासी बस्ती हटाउने योजनामा असफल भएपछि र त्यत्तिकै आलोचित भएपछि उनले फेरि एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै तुच्छ आलोचना गरे ।

उनले सामाजिक सञ्जालबाटै असंयमित हुँदै ओलीको आलोचनामा यस्तो स्ट्याटस लेखे– ‘सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन ।

मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो । तर, सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवस् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदि क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन ।

तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’ यो मेयर जस्तो जिम्वेवारीमा रहेको व्यक्तिले प्रयोग गर्ने शब्द थिएन । तर, उनले आफू मेयर भएपछि मात्रै सबै परिवर्तन संभव भएको झैँ गरी गरेको असभ्य टिप्पणीले मेयर साह आफैँलाई गिज्याउने खालको थियो ।

सन्दर्भ ४

यसरी एकपछि अर्को गर्दै आलोचित बनेका साहले आफूलाई काठमाडौं महानगरको विकासमा केन्द्रित गर्ने भन्दा पनि अरुको आलोचनामा रमाउने रणनीति अख्तियार गर्दै गए । उनको यो शैलीलाई विस्तारै धेरैले अपरिपक्को र आलोकाँचो भनि टिप्पणी गर्न थाले । तर, उनले आफ्नो रफ्तार छाडेनन् । उनले त्यस्तै आलोचित र अभिव्यक्ति निर्वाचनपछि पनि गरे । निर्वाचनपछि लेखेको उनलको एक स्ट्याटस
नयाँ सांसदहरु,
नयाँ गफाडीहरु !
उही पुरानो देश ।
उही पुराना व्यापारीहरु ।
त्यसो त नयाँ मन्त्रिमण्डल बनेपछि पनि उनको असंयमित अभिव्यक्ति झन छताछुल्ल हुँदै गयो । निर्वाचनका बेला उनलाई सहयोग गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर पहिलो प्रयासमै सम्मानजनक सिट ल्याएपछि गृहमन्त्री बने । लामिछानेले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि साह लामिछानेको सफलतामा थप दुःखी बने । उनी केही समय लामिछाने विरुद्ध पनि खनिए ।

सन्दर्भ ५

२०८० भदौमा मेयर साहले पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए । त्यतिबेला पनि साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका थिए । राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ ?’ भन्दै सामान्य सोधखोज गरेका थिए । त्यसैको झोंक उनले सामाजिक सञ्जालमा यस्तो अराजक टिप्पणी गरेका थिए – ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !,’ उनी कति अल्लारे हुन् भन्ने कुराको पुष्टि त्यो सन्र्दभले पनि गरिदिन्छ ।

सन्दर्भ ६

आफू जनहितमा काम गर्ने मेयर हुँ भन्दै अदालतले गरेका केही फैसलाहरुलाई चुनौती दिने काठमाडौंका मेयर बालेन साहको निर्देशनमा गत भदौमा एउटा सूचना गोरखापत्रमा दैनिकमा छापियो । त्यो सूचना छापिएसँगै लामो समयदेखि नदी किनार आसपासमा पुस्तौँदेखि स्थायी बसोबास गर्दै आएका महानगरवासीहरुलाई झस्काइ दियो ।

अदालतको एक फैसलापछि मेयर साहले हौसिदैँ पुस्तौदेखि स्थायी थातथलो बनाउँदै आएका स्थानीय बासिन्दाको उठिवास लगाउने कार्यलाई प्रोत्साहन गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दूरीमा थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्नेलागयतका बुँदा राख्दै सार्वजनिक सूचना जारी गरिदिएका थिए ।

सर्वोच्चको फैसलालाई आधार मानी २०८१ साउन २४ गते काठमाडौं महानगरपालिकाको प्रमुख स्तरीय निर्णय अनुसार भन्दै सूचना प्रकाशित गरिदिएपछि धेरैले यस्तो फैसला कार्यान्वयन भए उठिवास लाग्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

उपत्यकाभित्रका नदीमा प्रदुषण नियन्त्रण, नदी किनारका जग्गाको अतिक्रमण हटाउने सम्बन्धमा गरेको त्यो फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि र त्यहि फैसलाको त्यान्द्रो समातेर बालेनले तर्साउन थालेपछि महानगरबासी आन्दोलित बनेका थिए । त्यसैगरी काठमाडौं उपत्यका मेयर्स फोरमले पनि यसमा पुनरावलोकन गराउन सरकारसँग माग गरेको थियो। जनस्तरबाटै फैसलाको पुनरवलोकन गर्न माग उठेपछि मन्त्रिपरिषद कार्यालयका सचिव फणिन्द्र गौतमले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा निवेदन दिएका थिए । भदौ ३१ गते सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा निवेदन दिएको थियो ।

सोही निवेदन अनुसार सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारामा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसलाको पुनरावलोकन गर्न अनुमति दियो । उक्त अनुमतिसँगै मेयर साहको चुरीफूरी पनि सेलायो । त्यो सन्दर्भमा पनि प्रधानमन्त्री ओली र एमाले कार्यकर्ताले खुलेर मेयर साहको आलोचना गरेका थिए ।

त्यतिबेला पनि मेयर साह एमाले र ओलीसँग यसरी खनिएर स्ट्याट लेखेका थिए । ‘उहिलै मरिन् सासु, अहिले आए आँशु , यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण । म काठमाण्डौ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।
त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाण्डौको मेयर विद्यासुन्दर शाक्य । यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरे पछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ । प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।

हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।

हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ सरकार बाट अर्को मापदण्ड ल्याएर ।’

सन्दर्भ
केही समय अघि मात्रै साहले काठमाडौँको पुरानो बसपार्कमा निर्माण भइरहेको भ्युटावरको नक्सा पास गर्न कार्यकारी अधिकृत सरोज गुरागाईंले स्वीकृति दिएको आरोप लगाई छानबिन समिति बनाएर आफूलाई चर्चामा ल्याए । २०८१ असोज ७ गते महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गुरागाईँलाई तीन महिना नपुग्दै आर्थिक अनियमितताको गम्भीर आरोप गाएपछि साहको चर्चा भयो ।

तर, गुरागाईँ आउनुअघि नै नक्सा पासका लागि मेयर बालेनले नै स्वीकृति दिएको पुष्टि भएका प्रमाणहरु बारिएपछि साह आलोचित बने । एक वर्षअघि नै उनले पाँच लाख रुपैयाँ जरिवाना तोकेर स्वीकृति दिएको तथ्यपछि साह केही समय गुमनाम मात्रै भएनन् । सपरिवार थाइल्याण्ड घुम्न गएको तस्बिर सार्वजनिक भयो । त्यसपछि आफ्नो आलोचनालाई मत्थर बनाउन फेरि साह नेताप्रति लक्षित गरेर कअराजक टिप्पणी लेख्न थालेका छन् । हिजो साहले सञ्जालमा लेखेको टिप्पणी त्यसैको एक प्रमाण हो ।

उपत्यकामा बाढी र डुबान हुँदा कतै नदेखिने मेयर बाढी र डुबानको पीडा खेपिरहेका महानगरवासीलाई उचाल्दै सरकारकै आलोचना गरिरहेका हुन्छन् । वर्षभरी वेखबर बनेका मेयर तिहारका बेला केही दिन अघि मात्रै फूल व्यापारीमाथि आक्रमक बन्छन् । कहिले फोहोर लगेर सडक विभाग अघि थुपारेर ‘स्टन्ट’ गर्छन् भने कहिले आफ्ना गल्ती ढाकछोप गर्न सरकारलाई स्तरहीन गालीको साहारा लिन्छन् । उनका यस्ता दजनौँ तथ्यहरु छन् । तर, मेयर साह भने अहिले पनि नेता लक्षित टिप्पणी गरेर आफूलाई राम्रो देखाउँदै आएका छन् ।

त्यसैले साह काम गरेर भन्दा पनि आलोचना गरेर चर्चामा आएका र समाजमा अराजकता फैलाउने एक गलत पात्रका रुपमा परिचित बन्दै आएका छन् । उनको यो अराजकताको सूचक कहिलेसम्म माथि जाने हो र यस्ले नेपाली समाजमा कतिसम्म असर गर्ने हो भन्ने हेर्न बाँकी नै छ ।