सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाले दिए आफ्ना मन्त्रीहरूलाई निर्देशन
काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
सभापति देउवाले बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा यस्ताे निर्देशन दिनुभएकाे हाे ।
सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिनुभयो ।
“जनतासँग सरोकार भएका विषयमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुस्”, सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री चौरसियाले भन्नुभयो, “पार्टीको कामभन्दा सही तरिकाले समय व्यवस्थापन गरेर मन्त्रालयको कामलाई प्राथमिकताका साथ अगाडि बनाउनुस् ।”
सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि मन्त्रीहरूसमक्ष आग्रह गर्नुभयो । बैठकमा पार्टी उपसभापति, महामन्त्री, नेता, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतकलगायत व्यक्तिको उपस्थिति थियो ।
उहाँले संसद् अधिवेशन सुरु हुनुपूर्व सम्बन्धित मन्त्रालयअन्तर्गतका कानुन कहाँ पुगेर अड्किएका छन् सोकोे टुङ्गो लगाउन पनि मन्त्रीहरूलाई निर्देशन दिनुभयो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेका अनुसार आजको भेटमा सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले काम गर्न र महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने निर्णय भएको छ ।
सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्णरूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसद्को चासो, सुझाव, अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने निर्णय भएको प्रमुख सचेतक घिमिरेले जनाएकाे छ ।
सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिनुभएको छ ।