मकवानपुरमा साढे २२ हजार किशोरीलाई एचपिभी खोप लगाइने

मकवानपुर, १५ माघ । मकवानपुर जिल्लामा सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २२ हजार ७ सय १३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ।

फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसको अवसर पारेर यो खोप अभियान सुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो। यो खोप पहिलो पटक अभियानकै रुपमा आएकोले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी लगाइने उहाँले बताउनुभयो।

प्रमुख मिजारका अनुसार, सरकारले पहिलो चरणमा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप लगाउने छ। स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार खोपको मात्रा माग गरिएको र सोही अनुसार माघ २२ देखि २५ गतेसम्म र केही स्थानीय तहमा २८ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौंडा उपमहानगरपालिकामा रहेका छन्। जहाँ विद्यालयमा अध्ययनरत ११ हजार ६८ र विद्यालय बाहिरका १०५ गरी ११ हजार १७३ जनालाई खोप लगाइनेछ। त्यसैगरी, इन्द्रसरोवरमा ४८६, मकवानपुरगढीमा १०७३, थाहा नगरपालिकामा १८८९, भीमफेदीमा ८४४, मनहरीमा २२६२, राक्सिराङमा ७९८, कैलाशमा १००१, बागमतीमा १३३९ र बकैयामा १८४८ जना किशोरीलाई खोप लगाइनेछ।

जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी पूरा भइसकेको र स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकिएको प्रमुख मिजारले बताउनुभयो। यो खोप सरकारले २०८२/८३ देखि नियमित रुपमा लगाउने कार्यक्रम रहेको छ।